सन्देश श्रेष्ठ
पोखरा, माघ १९
प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४० बलमा २३ रन, अनिश थापाले १६ बलमा १५ रन र उज्वल पौडेलले १२ बलमा १५ रनको योगदान दिए । छोरेपाटनलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा कुमुदिनीका लकी गुप्ताले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा सुधिर साहले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
१२४ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको कुमुदिनी होम्स १७.४ ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो । छोरेपाटनका बलरहरु सामु कुमुदिनीका व्याटरहरु निरीह देखिए । कुमुदिनीका लागि विद्वान देवकोटाले ३२ बलमा १२ रन र सञ्जीत कुँवरले १० बलमा ९ रन बनाउनुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । कुमुदिनीलाई सस्तैमा समेट्न छोरेपाटनका अनिश थापाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट तथा किशोर थापाले ४ ओभरमा ११ रन खर्चेर २ विकेट हत्याए ।
सो खेलमा छोरेपाटनका अनिश थापा प्लेयर अफ द म्याच घोषित भए ।
सोमबारको दोस्रो खेलमा मदरल्याण्ड सेकेण्डरीले जनप्रिय माविलाई ८१ रनले पराजित गर्यो । टस जितेर जनप्रियले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि सक्षम विकले ५९ बलमा २६ रन र सुभम गिरीले २६ बलमा २३ रनको योगदान दिए । मदरल्याण्डलाई ठूलो स्कोर बनाउनबाट रोक्न जनप्रियका सम्राट क्षेत्रीले ४ ओभरमा २० रन खर्चेर २ विकेट तथा कृष्ण ढकालले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हत्याए ।
१३० रनको लक्ष्य पछ्याएको जनप्रियले जवाफी व्याटिङ गर्दै १२.३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्र बनाएपछि पहिलो खेलमै पराजय बेहोर्यो । जनप्रियका सन्देश स्याङ्तानले २२ बलमा ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनसमेत जोड्न सकेनन् । जनप्रियलाई सस्तैमा समेट्ने क्रममा मदरल्याण्डका विलोभ मल्लले २.३ ओभरमा केवल २ रन खर्चेर ५ विकेट तथा भुवन भण्डारीले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए ।
सो खेलमा मदरल्याण्डका ५ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा डायमण्डबिरुद्द बाल मन्दिर र नेपाल भारत मैत्रीबिरुद्द वाराही मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० माघकसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र…






