गण्डकीको पुरानो संस्कृति ‘कृष्ण लिला’ अब चलचित्रमा


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन ११

लोपोन्मुख बालन नाच अर्थात श्रीकृष्ण लिला अब चलचित्रमा हेर्न पाईने भएको छ । विशेषतः गण्डकी क्षेत्रमा भगवान श्रीकृष्ण जन्मेको अवसरमा मनाईने श्रीकृष्ण जन्माष्टमीमा देखाईने यो नाचलाई केन्द्रीत गरेर पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानले नेपाली कथानक चलचित्र बनाएको हो । पोखरामा बालन नाचको संरक्षण, सम्वद्र्दन र प्रवद्र्दन गर्दै बालन नाच प्रदर्शन गर्दै आएको सो प्रष्ठिानले गण्डकीको लोपोन्मुख अवस्थामा पुगेको सो नाचलाई पुर्नजागरण गर्ने उद्देश्यले ‘श्रीकृष्ण’ नाममा चलचित्र निर्माण गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए । चलचित्रका निर्माता तथा निर्देशक गौतम लामो समय विदेश अध्ययन गरेर फर्किएका हुन् भने उनले ६ सय भन्दा बढी गीतहरुमा निर्देशन गरिसकेका छन् ।

चलचित्र २ महिना लगाएर शुटिङ गरिएको चलचित्रका निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिए । चलचित्रको पोष्ट प्रोडक्सनको कामसमेत सकिईसकेको बताउँदै उनले भने,‘चलचित्र सेन्सर बोर्डबाट पनि पास भइसकेको छ । अब प्रदर्शनको तयारीमा छौं ।’ चलचित्रमा संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम र सदस्यहरु कृष्णबहादुर विशवकर्मा, लक्ष्मी गुरुङ र तुलसी अधिकारीलगायतको लगानी रहेको छ ।

चलचित्रमा भगवान कृष्णको जन्मसँगै राक्षस कंशको अन्त्यसम्मलाई कलात्मक रुपमा देखाइएको उनले बताए । सत्यको सँधै जित हुन्छ तर त्यसका लागि कुर्नु पर्छ भन्ने मुल सन्देश चलचित्रले बोकेको उनले प्रष्ट्याए । डेढ घण्टा लामो यस चलचित्रमा कलाकारहरु नवीन ढुङ्गाना, शिव पराजुली, प्रजापती गौतम, सरिता दानकोटी, विष्णु सुवेदी, सत्तोष गौतमलगायतका सय भन्दा बढि कलाकारको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन श्रीकान्त सिग्देलले गरेका छन् भने सम्पादन सगुन सिग्देलले गरेका छन् । चलचित्रमा पटकथा तथा श्रींगार तुलसी अधिकारी गरेका छन् ।

चलचित्रमा ४ वटा गीतहरु रहेका छन् । जसमा संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम, तारापति सुवेदी, कल्पना सुवेदी, सरला पाण्डेलगायतको स्वर रहेको छ भने संस्थाका अध्यक्ष तथा चलचित्रका निर्देशक कृष्णप्रसाद गौतम आफैले संगीत दिएका छन् । ध्वनी मिश्रणमा भरत सुनार र रेकर्डिङमा छवि सुवेदी रहेको उनले जानकारी दिए ।

बालन नाच पोखरा र गण्डकीको सेरोफेरोमा प्रचलित छ । केहि समय अघिसम्म संयौ कलाकार राखेर देखाईने यो नाच पछिल्लो समयमा कलाकार र आर्थिक अभावका कारण देखाउन समस्या पर्दै आएको छ ।

चलचित्र तयार भए पनि नेपालमा तत्काल नदेखाईने भएको छ । शुरुमा विदेशमा देखाईने र नेपालमा चुनावी माहोल सेलाएपछि मात्रै देखाउने तयारीमा आफूहरु रहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।