पोखरामा किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ ।

महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए । महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।