पोखराको एक खाजाघरमा यौन व्यापार ! २ पक्राउ

- ४ महिलाको उद्दार


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत ३

यौन पेशा अप्नाउन बाध्य बनाएको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । नेपालको कानूनले बर्जित गरेको यौनजन्य पेशा अप्नाउन बाध्य बनाउने पोखरा–८ जाल्पारोडस्थित एक खाजा घरबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष २४ का राधेश्याम शाह र बागलुङ काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा–१ बजगर बस्ने २८ वर्षिय खेमु थापा रहेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । सो कार्यमा संलग्न अन्य केहि भने फरार रहेको उनले बताए । ‘पक्राउ परेका र फरार व्यक्तिहरु खाजाघरकै सञ्चालक हुन् वा बिचौलिया हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको छ’–उनले भने । फरार रहेकाहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

पक्राउ परेकाहरुले निम्न वर्गका महिलालाई गाउँबाट काम दिने बहानामा खाजा घरमा बोलाएर जागिर दिने र केहि दिनपछि होटलमा आउने पुरुषहरुसँग रात विताउन बाध्य बनाउने गरेको पाइएको डिएसपी बस्नेतले बताए । शुरुमा खाने, बस्नेलगायतको सुविधा भएको काम दिन्छु भनेर बोलाउँदा रहेछन्,उनले भने,‘तर पछि होटलमा आउने पुरुषहरुसँग पैसा लिएर जबरजस्ती रात विताउन लगाउँदा रहेछन् ।’

प्रहरीले सो खाजा घरमा काम गर्ने ४ जना महिलाको उद्दार गरेको जनाएको छ । खाजाघरमा दैनिकजसो होहल्ला हुनुका साथै जबरजस्ती यौन पेशा अप्नाउन बाध्य बनाएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरुलाई उद्दार गरेको डिएसपी बस्नेतले जानकारी दिए । त्यसरी काम गर्न बाध्य हुनेहरु आर्थिक अवस्था कमजोर भएकाहरु रहेको पाइएको उनले बताए ।

पक्राउ गरेकाहरुलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान जारी राखिएको उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।