पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । बाटुलेचौरमा रहेका महेन्द्र, चमेरे तथा छोरेपाटनको गुप्तेश्वर महादेवलगायत गुफाहरूले पोखराको पर्यटकीय आकर्षण बढाएका छन् ।
विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन् । करिब डेढ किलोमिटर लामो अनुमान गरिएको उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरस्थित चुनेपहरोसम्म रहेको स्थानीयवासी बताउँछन् । स्थानीयहरू यस गुफाका सम्बन्धमा धेरै पहिलादेखि जानकार भए पनि यसको पर्यटकीय उपयोगप्रतिको चासो भने विस्तारै विकसित भएको चुने पहरा सुन गुफा संरक्षण समितिका अध्यक्ष सङ्गीत बानियाँले बताए । गुफाको संरक्षण र विकाससँगै यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले चासो दि एको उनले जानकारी दिए ।
स्व अधिकारीका साथै उहाँपछि यहाँका प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, तत्कालीन वडाध्यक्ष शिवप्रसाद आचार्य हुँदै वर्तमान वडाध्यक्ष रामचन्द्र अधिकारीले यस गुफाको प्रवर्द्धन र विकासका लागि सहयोग गर्दै आउनुभएको अध्यक्ष बानियाँले उल्लेख गरे । पछिल्ला वर्षमा यसको पूर्वाधार विकासतर्फ पनि राज्यको चासो बढिरहेको बताउँदै उहाँले हालसम्म सङ्घीय र स्थानीय बजेट गरी करिब रु ५० लाख बराबरको पूर्वाधार विकासका क्षेत्रमा काम भइसकेको जानकारी दिए । गुफाको संरक्षण, प्रवर्द्धन र विकासका लागि विसं २०७६ मा कार्यालय भवन निर्माण गरिसकिएको जनाउँदै अध्यक्ष बानियाँले गुफाको प्रवेशद्वारसहित परिसरको व्यवस्थापन, सिँढी बाटो निर्माणलगायत कामहरू सम्पन्न भइसकेका उल्लेख गरे ।
गुफासमेत समेटिएको करिब ३० रोपनी क्षेत्रफल जग्गा रहेको बताउँदै उनले यसको पर्यटकीय उपयोग गर्ने सोच राखिएको जानकारी दिए । उनका अनुसार रहस्यात्मक गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिसँगै ठूलो सङ्ख्यामा रहेका चमेरा अवलोकन गर्न सकिन्छ । पूर्वाधार विकासलाई प्राथमिकतामा राखी काम भइरहेको बताउँदै अध्यक्ष बानियाँले गुफा प्रवेशका लागि बिजुलीबत्तीको व्यवस्थापनसहित शौचालयलगायत पूर्वाधार निर्माण सम्पन्न गर्दै पर्यटकका लागि औपचारिक रूपमा खुला गर्ने सोच बनाइएको जानकारी दिए । गुफासहित यस परिसर प्राचीनकालदेखि धार्मिक रूपमा महत्वपूर्णस्थल रहेको उनको भनाइ छ ।
पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३० पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ । गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






