अन्र्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा शुरु

- ५ देशका ६२ खेलाडी सहभागी


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत ५

पोखरामा अन्र्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता शुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज उद्घाटन गरे ।

चैत ७ गते शनिबारसम्म हुने प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुँदैछ । जसमा ५ देशका ६२ जना खेलाडी पाइलट सहभागी भएको कार्यक्रम संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए । जसमा ५२ जना पुरुष र १० जना महिला पाइलटहरु प्रतिष्पर्धीका रुपमा सहभागी रहेको उनले बताए । उनका अनुसार प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका प्याराग्लाईडिङ पाइलटहरु प्रतिष्पर्धीका रुपमा सहभागी छन् । यसअघि ७ देशका एक सय खेलाडी सहभागी हुने भनिए पनि मध्यपूर्वी तनावका कारण खेलाडी घटेको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)ले जनाएको छ । करीब ९० जनाले नाम दर्ता गराए पनि पछि रद्द गरेको संस्थाको भनाई छ । खासगरी यूरोपका पाइलटहरुले नाम फिर्ता लिएको बताइएको छ ।

च्याम्पीयनसीपका लागि प्रतियोगी खेलाडी पाइलटले सराङ्कोटबाट (टेकअफ) उडान र खपौंदीमा ल्याण्डिङ (अवतरण) गर्नुपर्नेछ । टेकअफ र ल्याण्डिङ गर्ने यो पुरानो ठाउँ हो । यसअघि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडानमा असर गर्ने भन्दै प्याराग्लाईडिङको उडान मान्द्रेढुंगा र ल्याण्डिङ पामे सारिएको थियो । तर पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान नभएको तथा सुरक्षाको दृष्टिकोणले पनि समस्या नपर्ने देखिएपछि प्याराग्लाईडिङको उडान तोरीपानी फर्काइएको थियो । अहिले भने सराङकोटबाटै उडान र खपौंदीमा ल्याण्डिङ गर्न पाईनेगरी प्रतियोगिता सञ्चालन गरिएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसीले बताए ।

एक्कुरेसी प्रतियोगीता भएकाले खेलाडीहरुले अवतरण गर्दा तोकिएको क्षेत्रमै गर्नुपर्छ । त्यसका लागि रेखाङ्कन गरेर क्षेत्र बनाइएको छ । पहिलो दिन खेलाडीहरुले दुई पटक उडान भरेका छन् । कुल ६ पटक उडान गर्दा पाएको अंकका आधारमा बिजेता छनौट गरिने यस प्रतियोगितामा दोस्रो दिन शुक्रबार २ पटक र अन्तिम दिन शनिबार २ पटक उडान भर्ने प्रतियोगिता संयोजक भट्टराईले जानकारी दिए । यसअघि शनिबार अभ्यास गराइएको थियो । शुक्रबार र शनिबार मौषमका कारण उडानमा समस्या भए सोहि अभ्यासमा पाएको अंकलाई नै आधार मानेर बिजेता घोषणा गर्न सकिने उनले बताए ।

५ वर्षपछि भएको प्रतियोगितामा क्रस कन्ट्रीलगायतका विधाहरु भने समावेश छैनन् । अध्यक्ष केसीले आगामी वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिनुका साथै एक्कुरेसीसँगै क्रस कन्ट्रलगायतका विधालाई पनि समावेश गरिने उद्घाटन कार्यक्रममा बताए ।

प्रतियोगितालाई सुरक्षित बनाउन उडान शुरु हुने क्षेत्र सराङकोट र अवतरण हुने क्षेत्र खपौंदीमा सुरक्षाकर्मीसहितको उद्दार (रेस्क्यू) टोली राखिएको प्रतियोगिताका सुरक्षा निर्देशक योगेश भट्टराईले जानकारी दिए । ‘त्यसबाहेक सम्भावित दुर्घटनालाई मध्यनजर गरेर उडान र अवतरण हुने दुबैतर्फ चिकित्सकसहितको मेडिकल टिम र एम्वुलेन्स तथा अवतरण क्षेत्रमा फेवाताल भएकाले मोटरबोटसमेत तयारी अवस्थामा राखिएको छ’–उनले भने ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्याराग्लाईडिङले पोखरालाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गरिरहेको बताए । उनले प्रतियोगितालाई क्यालेण्डरमा राखेर हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सुझाव दिदै त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्दता जनाए । ‘प्याराग्लाईडिङ पोखराको पहिचान हो । यसले पोखरालाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गरेको छ । त्यसैले यो प्रतियोगिता क्यालेण्डरमै राखेर हरेक वर्ष आयोजना गर्न आयोजकलाई आग्रह गर्दछु’–उनले भने ।

साहसिक खेलको विकास गर्दै पर्यटनको राजधानी पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ‘ना’का अध्यक्ष अनिल केसीले बताए । ‘यसले सहसिक खेलको विकास गर्नेछ गर्दै पर्यटन प्रवद्र्दनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने हामीलाई विश्वास छ’–उनले भने ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने ‘ना’का अध्यक्ष अनिल केसीले जानकारी दिए । त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिए । यसैगरी, समूहगत प्रतिष्पर्धामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष केसीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।