चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे


     एभरेस्ट आवाज    
     चैत्र ९ गते २०८२ मा प्रकाशित




चालु आर्थिक वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा १७ वटा गैंडा मरेका छन् ।

तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् ।

चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिङ्गर, सुन गोहोरो १/१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् । ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन् । यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकीएको उनले बताए ।

समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।