नयाँ सरकारलाई अवसर छ, सघाउन तयार छौँ: गण्डकीका वन मन्त्री पौडेल


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।

बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गरे । विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उनको छ । सरकारलाई सफल बनाउन आफ्नो ठाउँबाट सघाउने प्रतिवद्धता उनको छ । मन्त्री पौडेलले गण्डकी प्रदेश सरकारका मन्त्रालय मध्यबाट सबैभन्दा बढी आफ्नो मन्त्रालयबाट भएको दावी गरे। अर्को प्रसंगमा उनले आफ्नो मन्त्रालयले राजश्व सङ्कलनको मात्रा बढाएको र अझै बढाउने उल्लेख गरे । आफू निजी क्षेत्रबाट आएको व्यक्ति भएको कारण समेत प्रगति हासिल गर्न सहज भएको उनको भनाइ छ ।

उनले व्यवस्थापन पक्षलाई ध्यान दिँदा राजस्व सङ्कलनमा वृद्धि भएको दावी गरे । मन्त्रालयबाट गर्नुपर्ने राहत र अनुदान वितरण सकिएको भन्दै उनले वन क्षेत्रको लागि २० वर्षको रणनीति तयार बनाएर अगाडि बढेको जनाए । वातावरण तर्फको कामलाई प्रभावकारी बनाउन कार्यविधि निर्माण गरि अर्थमा पठाइएको उनले सुनाए । कतिपय काम प्रदेश सरकारले मात्र गर्न सम्भव नभइ सङ्घमा भन्नुपर्ने भएकोले समस्या भएको उनले बताए । व्यवसायी र सञ्चारकर्मी एक अर्काका परिपुरक भएको भन्दै उनले जनतालाई सुसूचित गराउने काम सञ्चार क्षेत्रको भएकोले अनुसन्धान गरेर राम्रो नराम्रो पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिए । .लगानी गर्नको लागि गण्डकी उपयुक्त ठाउँ भएकोले सबै एक भएर यस प्रदेशको विकासका लागि लाग्नुपर्नेमा उनको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बहादुर भुजेलले नयाँ सरकारले केही आशाको सञ्चार गराएको उल्लेख गरे । राम्रोको लागि सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने भन्दै उनले नयाँ सरकारले केही कुरामा आमूल परिवर्तन गर्न लागेकेले यसमा पुराना दलले पनि साथ दिनुपर्नेमा उनको जोड थियो । पोखरा उद्योग वाणिज्य संघकाका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले अहिले बनेको दुई तीहाइ नजिकको सरकारले ल्याएका एक सय बुँदे कार्यसुची सकारातमक रहेको भन्दै कार्यान्वयनमा जोड दिए । पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नयाँ सरकार निर्माण पत्श्चात निजी क्षेत्र उत्साहित रहेको भन्दै विगतमा कमीकमजोरीमा सुधार हुनुपर्ने बताए । पोखरा भ्रमण वर्ष २०२५ र २०२६ कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले नयाँ सरकारले केही गर्ने आशा देखाएकोले आउने दिन सुखमय बन्ने विश्वास उनको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष विक्रम कर्माचार्यले यतिबेला डलरको रेटमा भएको वृद्धि र इन्धनको अभाव लगायतको कारण व्यवसाय क्षेत्रमा असर परेको बताए । अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ । टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, टेलिभिजनका बोर्ड अफ डाइरेक्टर सुदिप प्रधानाङ्गले विभिन्न वाधा व्यवधानका बाबजुत सबैको साथका कारण टेलिभिजन अगाडि बढिरहेको बताए । कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन् ।

टेलिभिजनको पहुँच गण्डकी प्रदेशका सबै कार्यलयहरु र विज्ञापन दाताहरु समक्ष पुर्‍याउन क्यालेन्डर विमोचन गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् । टेलिभिजनले हरेक वर्ष क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।