गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०८३ मा प्रकाशित




गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गरेका हुन् । संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो ।प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गरे । उनले नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता राज्यले स्थापना गरेका विभिन्न आयोगको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पठाइने प्रदेश प्रमुख भट्टले बताए । आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराए । अलीले मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउँदै पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो गरे ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना लगायतको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।