मूल्यवृद्धिले निर्माण क्षेत्रमा सुनामी आएको निर्माण व्यवसायीको गुनासो, निर्माणाधीन आयोजनाको मूल्य समायोजन गर्न माग


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख १३

गण्डकीका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले निर्माण क्षेत्रमा सुनामी आएको बताएका छन् । निर्माण व्यवसायीहरुको छाता संस्था गण्डकी प्रदेश निर्माण व्यवसायी संघले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले निर्माण उद्योगमा सुनामी आएको बताएका हुन् ।

मध्यपूर्वमा जारी युद्दका कारण डिजेल, पेट्रोललगायतमा भएको मूल्य बृद्धिले निर्माण सामग्रीको ढुवानीको लागत ह्वात्तै बढेको तथा निर्माण सामग्री उद्योगहरुले अप्रत्याशित रुपमा निर्माण सामग्रीमा मूल्य बृद्धि गर्दा त्यसको असर निर्माण उद्योगमा परेको उनीहरुको भनाई छ । ईन्धनमा भएको मूल्य बृद्धिपश्चात निर्माण सामग्री उद्योगहरुले बिटुमिन, सिमेन्ट, रडलगायतका निर्माण सामग्रीहरुको मूल्य अप्रत्याशित रुपमा अत्यधिक बढाउँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण लम्सालले बताए । ‘एकातिर अत्यधिक मूल्य बृद्धिले निर्माणाधीन आयोजनाहरुको लागत बृद्धि भएको छ । अर्कोतर्फ निर्माण सामग्रीको अभावले निर्माण उद्योग लगभग ठप्प हुने स्थितिमा पुगेको छ’–उनले भने । एकातिर निर्माण सामग्रीको अभाव र अर्कोतर्फ निर्माण सामग्रीमा भएको मूल्य बृद्धिले निर्माण व्यवसायी दोहोरो मारमा पर्दा उद्योग नै धरासायी बन्ने खतरा देखापरेको उनको भनाई छ ।

संघले यहि कारण राष्ट्रिय गौरवका आयोजनाहरुको काम ठप्प भएको जनाएको छ । निर्माण क्षेत्रमा भएको वर्तमान विकराल स्थितिबारे सरकारको बारम्बार ध्यानाकर्षण गराए पनि समाधानका लागि ठोस पहल नभएको संघका अध्यक्ष लम्सालले बताए । सरकारले मौखिक आस्वासन मात्रै दियो,अध्यक्ष लम्सालले भने,‘तर ठोस कदम नचाल्दा पूर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरु, यस क्षेत्रमा कार्यरत लाखौं श्रमीकहरु तथा यस क्षेत्रसँग सम्बन्धित अन्य उद्योगहरु आर्थिक रुपमा धरासायी भएका छन् ।’

संघले निर्माणाधीन आयोजनाहरुको लागतमूल्य समायोजन गर्न माग गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठले निर्माण सामग्रीमा भएको मूल्य बृद्धि अनुसार नै मूल्य समायोजन गर्न आग्रह गरे । उनले भने,‘प्रत्येक आयोजनामा मूल्यबृद्धि भएअनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य बृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहरुलाई तत्काल राहत दिन र निर्माण व्यवसायीलाई बचाउन सरकारसमक्ष अपिल गर्दछौं ।’

साथै संघले मूल्य बृद्धिले उत्पन्न असहज परिस्थितिका कारण निर्माणाधीन आयोजनाहरु पूर्व निर्धारित समयमै सम्पन्न हुने स्थिति नरहेकाले बैंक ज्ञारेन्टी, ईन्सुरेन्स तथा क्षेतीपूर्तीसहित ती आयोजनाहरुको निर्माणको म्याद थप गर्ने वातावरण निर्माण गरिदिन सरोकारवाला सबैलाई आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।