सन्देश श्रेष्ठ
पोखरा, बैशाख १३
कार्वन उत्सर्जन घटाउँदै दीगो पर्यटन विकास गर्नका लागि पोखरा पर्यटन परिषद र चीनको सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघबीच सम्झौता भएको छ । जलवायु परिवर्तनले निम्त्याउने दुस्परिणामसँग जुध्नका लागि कार्वन उत्सर्जन कम गर्न यी दुई संस्थाले मिलेर काम गर्नका लागि आईतबार सम्झौता गरेका हुन् । सम्झौता पत्रमा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी र चिनियाँ संस्था सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघको तर्फबाट वु चाओले हस्ताक्षरण गरे । सो अवसरमा दुई पक्षबीच सम्झौता पत्र आदानप्रदान भएको थियो ।
कार्वन उत्सर्जन तटस्थताका लागि नीति निर्माण, हरित वित्त लागु, कार्वन उत्सर्जन न्यूनिकरण, कार्वन उत्सर्जन कम गर्ने प्रविधि प्रवद्र्धनलगायतमा दुई संस्थाबीच सहकार्य र सहयोग आदानप्रदान गर्नेगरी सम्झौता भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । जलवायु परिवर्तनका कारण थपिएको चूनौती घटाउन दुई संस्थाबीच सहकार्य भएको उनको भनाई छ ।
सम्झौता अनुसार कार्वन तटस्थता र हरित विकासमा चीनको सांक्षीले सघाउनेछ । ‘साथै उनीहरुले गर्दै आएको अभ्यास र अनुभव पोखराका लागि लगाउन पनि चिनीया संस्थाले सघाउनेछ’–उनले भने । सम्झौता अनुसार पोखराको पर्यटन उद्योगलाई हरित तथा न्यून कार्वन होटल तथा रेष्टुरेण्टको रुपमा विकसित गर्ने, पर्यटन स्थल तथा यातायात प्रणालीको विकासमा पुग्ने उनले जानकारी दिए ।
सम्झौताका लागि समन्वय गरेका पुष्पराज तिमिल्सिनाले न्यून कार्वन कृषि मोडलको विकासमा पनि सहकार्य हुने बताए । यसले स्थानीय कृषि उत्पादनको हरित प्रमाणीकरण र न्यून कार्वन उत्पादनलाई प्रवद्र्धन् गरि मुल्य अभिवृद्धि गर्ने उनको भनाई छ । ‘ग्लोबल वार्मिङका कारण निम्तिएको दुष्परिणामसँग जुध्नका लागि सहकार्य गर्नेबारे सम्झौता भएको हो ।’
पर्यटनविद् वासुदेव त्रिपाडीले न्यून कार्वन प्रविधि र व्यवस्थापन अवधारणाको प्रयोगमार्फत पोखराको पर्यटन उद्योगको विकास गर्ने उद्देश्य अनुरुप दुई संस्थाबीच धेरै पटकको छलफलपश्चात सम्झौता गरिएको बताए । स्वच्छ उर्जा, फोहोर व्यवस्थापन र उर्जा दक्ष भवन जस्ता हरित प्रविधिलाई पोखरामा भित्राई वातावरणीय चूनौती कम गर्दै हरित आर्थिक अवसर सिर्जनामा सम्झौता कोशेढुंगा सावित हुने उनको भनाई छ । उनका अनुसार सम्झौतामा हरित सहकार्यलाई आधार बनाउँदै ट्रान्स हिमालय बहुआयामिक सम्पर्क सञ्जाल निर्माण पहललाई समर्थन गर्ने र व्यावहारिक सहकार्यमार्फत दुई देश र त्यहाँका जनताबीच आपसी सम्बन्ध सुदृढ गर्ने उल्लेख छ । सम्झौता अनुसार पोखरामा चिनिया मसला पसल सञ्चालन गरिनेछ ।
सांक्षीका वु चाओले सम्झौता जलवायु परिवर्तनसँग जुध्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनसँग कुनै संस्था वा देश एक्लैले सम्भव नभएको बताउँदै उनले भने,‘त्यसैले सामुहिक रुपमा जुध्न यो सम्झौता भएको हो । आशा र विश्वास छ कि यसमा हामी सफल हुनेछौं ।’ उनले प्रकृतिलाई अहिलेका लागि मात्र प्रयोग गरेर नहुने भएकाले भविश्यका पुस्ताका लागि पनि जोगाएर राख्नु आवश्यक रहेको बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले कार्वन उत्सर्जन न्यूनिकरण गर्दै गरिने दीगो पर्यटन विकासले पोखरासँगै समग्र गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताए । यो सम्झौता पालना भएमा ईको फ्रेण्डली टुरिजममा क्रान्ति आउन सक्छ,उनले थपे,‘त्यसैले पोखराबाट शुरु गरिएको यो अभियान गण्डकी प्रदेशभरी लागु गर्न सकिन्छ । त्यसका लागि के आवश्यक छ त्यो सहयोग गर्न पर्यटन बोर्ड तयार छ ।’
परिषद्का महासचिव जीवनराज सापकोटाले दीगो पर्यटनमा काम गर्न नसकेको खण्डमा भविश्यमा प्राकृतिक विपत्तीको सामना गनुृपर्ने तर्फ सचेत गराए । ‘चिनियाँ अभ्यासलाई पोखरामा लागु गर्दा यसले पर्यटन दीगो बनाउने अपेक्षा छ,’ उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १३ गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले २०८३ साललाई…






