मुस्ताङमा यार्सा सङ्कलन सुरु,८७ जनालाई अनुमति


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८३ मा प्रकाशित




मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।

यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो । यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा सङ्कलन हुन्छ । यार्सा सङ्कलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरु लेक पुग्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समितिहरुले शुल्क लिएर यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दीपक ओलीले जानकारी दिए । कार्यालयहरुले यार्सा सङ्कलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ । सङ्कलनका क्रममा हुनसक्ने जोखिम, चोरी शिकारी, वन डढेलो, अवान्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ । थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारण नागरिकलाई यार्सा सङ्कलन पूर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिए । उनका अनुसार स्थानीयलाई रु तीन हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई रु सात हजार शुल्क उठाउने गरिएको छ ।

कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठूलो सरे र सानुसरेलगायतका लेकमा यार्सा सङ्कलन फुकुवा गरेको छ । समितिको लेकका लागि हालसम्म नौ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन् । थासाङको बतासेमा पनि सङ्कलन फुकुवा भइसकेको छ । उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन् । टुकुचे समितिले स्थानीयलाई रु एक हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई रु तीन हजार शुल्क तोकेको छ । थासाङको कुञ्जो लेकमा पनि यार्सा सङ्कलन सुरु भइसकेको छ । घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि यार्सागुम्बा सङ्कलन अनुमति दिने तयारी गरेकोसमितिका सचिव पवन गुरुङले जानकारी दिए ।

जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा सङ्कलनका लागि रु चार हजार र सोही क्षेत्रमा अस्थायी बसोबास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति रु छ हजार शुल्क तोकेको छ । वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा सङ्कलन फुकुवा गर्ने तयारी गरेको छ । मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरुमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिए ।

यार्सा सङ्कलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नुपरेमा रु ३१ हजार १०० राजश्व बुझाउनु पर्ने नियम छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।