सुर्खेत ।
सल्यानमा जिल्ला प्रहरी कार्यालय भित्रै ८६ वटा बम फेला परेको छ । सल्यानको शारदा नगरपालिका—३ स्थित जिप्रका परिसरमै नया भवन निर्माणका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेको जनाइएको हो । जहाँ बमसँगै विस्फोटक पदार्थसमेत फेला परेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८२ सकेट बम, ३ सुतली बम र एउटा बोतल बम फेला परेको छ ।
सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । ‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय भयो,’ उनले भने, ‘त्यसपछि सेना आउँदा उक्त दिन बेलुका ४ बजेसम्म १० वटा सकेट बम फेला परेका थिए ।’
शनिबार बिहान ११ः२० बजे पुनः उत्खनन गर्ने क्रममा थप बम फेला परेको उनले बताए ।
साथै उत्खनन गर्ने क्रममा थप ७ थान रेडियो सेट (वाकीटाकी), ५०० ग्राम तयारी विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने २ केजी पार्टपूर्जा र १० मिटर फायरिङ केबल समेत फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेका बमहरू निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
कालीभक्ति गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमान्डमा ६ जनाको इन्जिनियर टोली र सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ ।
बुधबार नै सिद्धीबक्स गण सल्यानबाट उप–सेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा टोली खटिएको थियो । परिमाण ठूलो भएपछि थप प्राविधिक सहयोगका लागि मध्यपश्चिम पृतना अन्तर्गत १९ बाहिनी तुलसीपुर दाङबाट पनि विशेष टोली बोलाइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






