सन्देश श्रेष्ठ
पोखरा, बैशाख १९
पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरीको नेपाल पुलिस क्लव प्रतिष्पर्धामा उत्रिने भएका छन् । शनिबार भएको दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले संकटा क्लवलाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । यसअघि पहिलो खेलमा शुक्रबार पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८–० ले पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्त आईतबार हुने आयोजकले जनाएको छ ।
आरएस पोखरा फुटबल क्लवको आयोजनामा पोखरा रंगशालामा भइरहेको पोखरा महिला गोल्डकप अन्तर्गत शनिबारको खेलमा त्रिभूवन आर्मीले संकटा क्लवलाई ४–२ गोलअन्तरले पराजित गर्न सफल भयो । पहिलो हाफमा १–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप ३ गोल थप्दै ४–२ को फराकिलो अन्तरले पराजित गर्यो ।
आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दीपा शाही र हिमा चौधरीले एक÷एक गोलको योगदान दिए । पराजित संकटाका लागि दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले सान्वना गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ईञ्जुरी समयमा दीपा शाहीले गोल गर्दै आर्मीलाई अग्रता दिलाईन् । तुलसा बोहोराले दिएको पासलाई उनले सजिलै जाली चुमाईन् । पहिलो हाफमा १–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि आक्रामक रणनीतिलाई निरन्तरता दिना ४७ औं मिनेटमै गोल थप्दै अग्रता दोब्बर बनायो । आर्मीकी चन्द्रा भण्डारीले विपक्षी गोलकिपरले क्लियर गर्न खोजेको बल नियन्त्रणमा लिदै गोल गरेकी हुन् । चन्द्राले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै आर्मीको अग्रता तेब्बर बनाईन् ।
३–० ले पछि परेको संकटाले ७० औं मिनेटमा गोल फर्कायो । संकटाका लागि विदेशी खेलाडी क्वीनवेल अमक्राहले गोल गर्दै जितको आशा जिवित राखिन् । त्यसको दुई मिनेट पछि नै संकटाकी मोकाम्बिकले फ्रिकीकमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पु¥याए पनि त्यसपश्चात गोल नथप्दा उपाधि होडबाट बाहिरिनु पर्यो । बरु आर्मीकी हिमा चौधरीले निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको ईञ्जुरी समयमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् ।
प्रतियोगिताको उपाधि बिजेताले नगद ५ लाख र उपबिजेताले नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






