तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिएको जानकारी दिए । उद्यान निर्माणका लागि बोलपत्र आह्वान गरी मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उनले बताए । उनले भने, “आगामी वर्षका लागि पहुँच मार्ग निर्माण, भानुघर निर्माणका लागि बजेट प्रस्ताव गरिएको छ ।” स्थानीय सन्देश आचार्यले उद्यानले यस क्षेत्रकै विकास हुने बताए ।
चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा भानु भवन निर्माण गरिनेछ । सो भवन परम्परागत गोलघर शैलीमा निर्माण गरिने र उक्त घरमा भानुभक्त आचार्यका जीवनीको सम्पूर्ण पक्षलाई चित्राङ्कन गरी उहाँको जीवनी र स्मृतिसँग सम्बन्धित चित्रकृति राख्ने प्रस्ताव गरिएको छ । उक्त भवनको माथि ५४ फिट अग्लो पलेँटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिनेछ । गुरुयोजनाअनुसार दक्षिण दिशामा विविध भाषा, साहित्यिक स्रष्टाको मूर्ति निर्माण गरिनेछ । मूर्तिबाटिकाको तल भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञाभवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र निर्माण गरिने योजना रहेको छ । उद्यान निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले गुरुयोजना कार्यान्वयनका लागि ४३५ रोपनी जग्गा अधिग्रहण गरिएको जानकारी दिए ।
उनले भने, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।” उद्यानका लागि हालसम्म एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, वैशाख । युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धन…






