राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् ।
मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । “ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरूपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।
दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकारलगायत सबैलाई उनले सुझाव दिए । राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि विस्तारै बुढ्यौलीतिर उन्मुख रहेको बताए । “युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्, यस्तो स्थितिमा ज्येष्ठ नागरिकहरूको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु”, उनले भने ।
स्वस्थ्यकर सामग्री खानु, लाउनु र आवश्यक परेका अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु ज्येष्ठ नागरिकको हक भएको उनको भनाइ थियो । उहाँहरूले पनि उस्तै उमेरका वा अरू जोसुकैसित पनि अन्तक्र्रिया गर्ने एवं सकेसम्म परिवारमै स्थापित भएर जीवनयापन गर्न पाउनुपर्नेमा राष्ट्रपतिले जोड दिए । “सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी तथा पारिवारिक असहिष्णुता एवं अन्य कारणबाट जीवनका उत्तरार्धमा वरिष्ठ नागरिकका आँखामा आँसु आएका समाचारले जोसुकैको पनि मन भ्रवित पार्छ”, राष्ट्रपति पौडेलले भने । राष्ट्रपति पौडेलले सम्मेलन ज्ञान र सीपको अन्तर्पुस्ता हस्तान्तरण तथा जनसङ्ख्याको अवस्थाअनुसार अघिल्लो र पछिल्लो पुस्ताको समिश्रणको एक सेतु बन्न सकोस् भन्ने सुझावसहित सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे ।
दक्षिण एसियामै वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहनजी सरल र सादगी नेता भएको उनको भनाइ थियो । “नेपालको प्रजातान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बिपी कोइरालासँगै मनमोहनजी र अन्य कतिपय नेताले नेपालको मात्र नभएर भारतको समेत स्वाधीनता सङ्ग्राममा उल्लेख्य सहभागिता जनाउनु भएको थियो, त्यही भएर मनमोहनजीलगायता नेताहरू नेपालमा मात्र नभएर मुलुक बाहिर पनि सम्मानित हुनुहुन्छ”, उनले भने । कांग्रेस र कम्युनिष्टबीच सैद्धान्तिक मतभेद भए पनि नेपालमा निरङ्कुश पञ्चायतको अन्त्य गरेर बहुदलीय प्रजातन्त्र स्थापनाका लागि यी दुई शक्तिबीच सहकार्य आवश्यक छ भन्ने सोच भएका उदारवादी वामपन्थी मनमोहन अधिकारी भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनमत सङ्ग्रहमा कट्टरपन्थी कम्युनिष्टहरूको आलोचना खेपेर पनि बहुदलीय व्यवस्थाको पक्षमा जननायक बीपी, गणेशमान सिंह, किशुनजीसँंगै उहाँले पु¥याउनुभएको योगदान स्मरणसहित हार्दिक श्रद्धासुमन प्रकट गरे ।
राष्ट्रपति पौडेलले भने, “विसं २०५१ मा उहाँकै प्रधानमन्त्रित्वको सरकारले वृद्धावस्थामा पुगेका नागरिकलाई नेपालमा पहिलोपटक मासिक वृद्धभत्ताको व्यवस्था गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिक भनेको विगतमा राष्ट्रसेवा गरेको तथा हाल तुलनात्मक रूपमा बढी आधारभूत सुविधा चाहिने समाजको एक विशिष्ट वर्ग हो ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ…






