पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ ।
पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा लेखक मेजन पुनले मनोज घर्तीमगरका दुुई पुुस्तक ‘मगर जातिको इतिहास’ र ‘भर्तीको भन्दा’ किताबामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । ‘लेखकले गोर्खा भर्तीले नेपाली समाजमा पारेका सकरात्मक र नकरात्मक प्रभावसहित नलेखिएको इतिहासमाथी कलम चलाएका छन्’ कार्यपत्र प्रस्तुतकर्ता मेजनले भने,‘आदिवासी मतुवाली जातिका युवाहरुलाई उर्दी नै लगाएर मर्नकै लागि भर्ती गरिएको नीतिको बारेमा लेखकले थप तथ्य उजागर गरेका छन् ।’
परिचर्चाकार मेजन पुनले अनुसन्धान गर्ने कार्य निकै चुनौतीपूूर्ण रहेको भएपनि लेखकले ती सबै चुुनौतीलाई सामाना गर्न तम्तयार भइ नलेखिएका र उत्खनन नगरिएका विषयमा कलम चलाएको बताए ।
‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ उनले भने,‘लाहुरे संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।’

उनले इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ ले मगर जातिको इतिहास संरक्षणमा थप टेवा पुग्ने गरि लेखिएको हुँदा पुस्तक पठनीय भएको सुनाए । ‘मगर जातिको इतिहास’ पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् भने २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणको प्रकाशन पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले गरेको हो ।
इतिहासकार एवं लेखक मनोज घर्तीमगरले गोर्खा भर्तीको इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास गरिएको बताए । उनले मगर समुदायको लेख्य इतिहाहस परम्परा कमजोर रहेकाले मगर इतिहास दस्तावेजीकरणका लागि मगर जातिको इतिहास लेखेको सुनाए । नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टजिका अध्यापक समेत रहहेका लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दैछन् ।
कार्यक्रममा उदय अमात्य, रुद्र श्रीस मगर, बुद्धि गुरुङ, स्ट्रगल राना, विकास लुङ्गेलीमगर, लोचना अधिकारी, मनोज सुवेदी, नुनु रानामगर, कविता घर्तीमगर, रोशन तल्कोटे, सिंह बहादुर गुरुङ लगायतले कार्यपत्रमाथि टिप्पणी र प्रश्न गरेका थिए ।
संस्थाका अध्यक्ष दिपक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खा भूतपूर्व सैनिकहरू, नेपाल मगर संघका विभिन्न इकाइका प्रतिनिधिहरू,कवि, लेखक,समालोचकको सहभागिता रहेको कार्यक्रमलाइ संस्थाका सचिव ध्रुव केसीले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






