पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८३ मा प्रकाशित




नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सुरु भएको छ ।

वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललले गरेका हुन् । उद्घाटनपछि उनले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गरे । उनले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औँल्याएर सुधारको बाटो देखाउने बताए । उनले भने, ‘कलमले जहिले पनि समाजलाई रूपान्तरण गर्ने काम गर्छ । पत्रकारिताले सरकार, समाज र विभिन्न संघसंस्थाका कमजोरी र राम्रा पक्षलाई केलाएर समाजलाई सही मार्गमा डो¥याउने काम गर्छ ।’ पत्रकारिता क्षेत्र निकै नै महत्वपूर्ण रहेको र यसले सरकारलाई सधैँ झकझकाउने र समाजलाई व्यवस्थित बनाउने भूमिका खेल्ने उनको भनाइ थियो । वर्तमान समयमा प्रविधिको विकास र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को युग सुरु भइसकेको सन्दर्भमा पत्रकारितालाई अझ सशक्त बनाउनुपर्नेमा उनको जोड थियो ।

यो तालिमले पत्रकारहरूलाई नयाँ प्रविधि, मल्टिमिडियाको प्रयोग र बदलिँदो समयको लय समात्न ठूलो सहयोग पु¥याउने उनको विश्वास थियो । तालिमको सैद्धान्तिक र व्यावहारिक पक्षबारे चर्चा गर्दै उनले भने, ‘कुनै पनि तालिमले ज्ञान, दृष्टिकोण र सीप गरी तीनवटा कुरा प्रदान गर्छ । यो तालिमले पत्रकारिताको ज्ञानका साथै यस क्षेत्रमा हुनुपर्ने सही दृष्टिकोण र समाचारलाई प्रभावकारी बनाउने सीप विकास गर्नेछ ।’ उनले कहिलेकाहीँ केही सञ्चार माध्यमका कारण समग्र पत्रकारिता क्षेत्रकै बदनाम हुने गरेको प्रति सचेत गराउँदै तालिमले पत्रकारहरुको कार्यशैली र सोचमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरे । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको ठूलो प्रभाव परेको र ‘मोबाइल जर्नालिज्म’ को महत्व बढ्दै गएको बताए ।

पहिले हुलाकबाट पठाउनुपर्ने बाध्यता रहेकोमा अहिले प्रविधिको विकासले पत्रकारितालाई सहज र छिटो बनाएको उनले उल्लेख गरे । पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले ‘समय आन्दोलन’ को अभियान समेत सुरु गरेको उनले बताए । तालिममा सहभागीहरुले प्रशिक्षकबाट धेरै प्रयोगात्मक ज्ञान हासिल गर्ने विश्वास समेत उनले व्यक्त गरे ।तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । महासंघ कास्कीका सचिव भूपाल गुरुङले सञ्चालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष माधव रेग्मीले स्वागत गरेका थिए ।

पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) रहेको छ । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पत्रकारहरु सहभागी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।