गण्डकीको बेरुजु ५४ करोड ३ लाख


     एभरेस्ट आवाज    
     जेठ २ गते २०८३ मा प्रकाशित




पोखरा, जेठ २

आर्थिक वर्ष २०८१/८२ मा गण्डकीमा ५४ करोड ३ लाख रुपैयाँ बेरुजु भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष गण्डकीका १ सय ८० कार्यालयको ४१ अर्ब ४५ करोड बराबर लेखा परीक्षण गर्दा सो बेरुजु देखिएको हो । यो कुल बजेटको १.३० प्रतिशत बेरुजु हो ।

७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा भएको छ । मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । जसबाट १ अर्ब ८७ करोड बराबर बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हो ।

सबैभन्दा कम बागमती प्रदेशको ०.८३ प्रतिशत बेरुजु कायम भएको छ । बागमतीका २ सय ९ कार्यालयको ८३ अर्ब १५ करोड रुपैयाँ बराबर लेखा परीक्षण भएको थियो । जसबाट ६९ करोड ३७ लाख बेरुजु देखिएको छ ।

यसबाहेक कोशीका २ सय ८ कार्यालयको ५२ अर्ब ३८ करोड लेखा परीक्षणबाट ५५ करोड ५५ लाख बेरुजु कायम भएको देखिन्छ । जुन १.१२ प्रतिशत हो ।

त्यस्तै लुम्बिनीका २ सय १४ कार्यालयको ५७ अर्ब २० करोडको लेखा परीक्षण भएको छ । जसबाट ६३ करोड ३२ लाखको बेरुजु कायम भएको छ । जुन १.२७ प्रतिशत हो ।

कर्णालीका १ सय ३७ कार्यालयको ३७ अर्ब १९ करोडको लेखा परीक्षणबाट ७० करोड बराबरको बेरुजु कायम भएको छ । जुन २.०८ प्रतिशत हो ।

सुदूरपश्चिमका १ सय ५९ कार्यालयमा ३९ अर्ब ४९ करोडको लेखा परीक्षण गरिएको थियो । जसबाट ५५ करोड ५९ लाख बराबरको बेरुजु भएको छ । यो १.५३ प्रतिशत बराबर हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।