कुशलको शतक मद्धतमा नेपालले अमेरिकालाई ९ विकेटले हरायो


     एभरेस्ट आवाज    
     जेठ २ गते २०८३ मा प्रकाशित




ओपनर कुशल भुर्तेल चम्किदा नेपालले अमेरिकामाथि सहज जीत दर्ता गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारि खेले । अभूतपूर्व प्रदर्शन गरेका उनले ११७ बलमा १२० रन बनाए । उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा ओपनर आसिफ सेखले ७२ बलमा ५९ रन तथा इसान पाण्डेले २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा अमेरिकाका मोहम्मद मोहसिनले एक विकेट लिए ।

अमेरिकाको ईनिङमा ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाउँदा ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । नेपाली बलर चम्किएको खेलमा अमेरिकाले खुलेर खेल्न सकेन भने मध्यम स्तरको मात्रै लक्ष्य दियो । बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट हत्याए । नेपालले अब सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।