पोखराको नारायणस्थान मन्दिरमा पुरुषोत्तम मास व्रत अनुष्ठान हुने


     एभरेस्ट आवाज    
     जेठ २ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका–३ नदीपुरस्थित लक्ष्मीनारायण मन्दिरमा पुरुषोत्तम मास व्रत अनुष्ठान आयोजना हुने भएको छ। नारायणस्थान धार्मिक क्षेत्र विकास समिति तथा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको आयोजनामा जेठ ३ गतेदेखि ३१ गतेसम्म विशेष धार्मिक कार्यक्रम सञ्चालन गरिने जनाइएको हो।
आयोजकले पुरुषोत्तम मासलाई हिन्दु धर्ममा विशेष पुण्यदायी महिनाका रूपमा लिइने भएकाले विभिन्न धार्मिक अनुष्ठान आयोजना गरिएको जनाएको छ। कार्यक्रममा भगवान पुरुषोत्तमको पूजा–आराधना, रामचरितमानस पाठ, श्रीमद् रामायण मास पारायण, शालिग्राम अभिषेक अर्चन तथा पुरुषोत्तम मास महात्म्य कथा हुने जनाइएको छ।
हरेक दिन बिहान ६ बजेदेखि हिमालयन सिद्ध महायोग ध्यान साधना सञ्चालन गरिनेछ भने बिहान ७ बजेदेखि ८ः३० बजेसम्म श्रीरामस्तवराज, श्रीरामसहस्रनाम पाठ लगायतका कार्यक्रम रहनेछन्। त्यस्तै बिहान ९ बजेदेखि १० बजेसम्म पुरुषोत्तम मास महात्म्य कथा तथा १० देखि ११ बजेसम्म आरती र प्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको छ।
विशेष दिनहरूमा पूज्य सद्गुरुदेवको प्रत्यक्ष सान्निध्यमा परम् दिव्य श्रीरामर्चन महाराजसमेत सम्पन्न गरिने आयोजकले जनाएको छ।
आयोजकले परिवारसहित उपस्थित भई धार्मिक लाभ लिन भक्तजनलाई आग्रह गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।