सन्देश श्रेष्ठ
पोखरा, जेठ ३
कास्कीका राजनीतिक दलहरुले वैकल्पिक व्यवस्था नगरी भूमिहीन, सुकुमबासीलाई नहटाउन सुझाव दिएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको समय सकिनै लागेका बेला राजनीतिक दलहरुसँग गरेको छलफलमा उनीहरुले वैकल्पिक व्यवस्था गरेर मात्रै भूमिहीन, सुकुमबासीलाई हटाउन सुझाव दिएका हुन् ।
पोखरा महानगरपालिकाले पोखरा बसपार्क, फिर्केखोला करिडोर, अमरसिंहचोक र फेवाताललगायतका क्षेत्रमा संरचना हटाउन ३५ दिने सूचना निकालेको एक महिना पुगेको छ । अब केहि दिनमै अतिक्रमित संरचना भत्काउने तयारी स्वरुप महानगरले जिल्लास्थित दलका नेताहरुसँग छलफल गरेको हो ।
छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाउनेबारे महानगरको तयारीबारे जानकारी गराएका थिए । उनले फिर्केखोला करिडोरबाट अतिक्रमित संरचना हटाउने अभियान शुरु गर्ने र क्रमशः बसपार्क, अमरसिंहचोकलगायतका क्षेत्रमा डोजर लगाउने बताए । उनले बसपार्कलगायतका क्षेत्रमा बसोबास गर्ने भूमिहीन, सुकुम्बासीसँग पटक÷पटक छलफल भएको जानकारी गराए । उनले भने,‘छलफल सकारात्मक छ ।’ उनका अनुसार भूमिहीन, सुकुम्बासीले वैकल्पिक व्यवस्था गरिदिए हालको बसोबास गरेको ठाउँ छाड्न तयार रहेको बताएका छन् । यसबारे मेयर आचार्यले थप खुलाएनन् । भूमिहीन सुकुम्बासीले पहिलेदेखि नै वैकल्पिक व्यवस्था गरेर हालको ठाउँ छाड्न तयार रहेको बताउँदै आएका छन् । तर कुन ठाउँ दिए उनीहरु मञ्जुर हुन्छन् भन्नेबारेमा मेयर आचार्यले केहि पनि नबताएको बैठकमा सहभागी नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए । उनले भने,‘वैकल्पिक व्यवस्था गरे हालको ठाउँ छाड्ने कुरा सकारात्मक छ, तर कुन ठाउँ पाए छाड्ने हो ? यसमा महानगरेको तयारी के छ भन्नेबारेमा मेयरले थप बताउनु भएन ।’
छलफलमा दलका तथा प्रतिनिधिहरुले वैकल्पिक व्यवस्था गरेरमात्र हटाउन सुझाव दिए । वर्षौंदेखि बसेका, थातथलो बनाएकाहरुलाई एकैपटक डोजर लगाउँदा नागरिक घरबारविहीन् हुनेमात्र होईन, उनीहरुको स्वाभिमानमा पनि ठेस लाग्ने भएकाले विकल्पसहित हटाउनुपर्नेमा दलहरुको जोड थियो । कांग्रेस सचिव ढकालले आफूहरुले उचित विकल्पसहित हटाउन सुझाव दिएको बताए । सक्कली सुकुम्बासीलाई जबरजस्ती डोजर लगाएर हटाउनु हुँदैन भन्ने हाम्रो सुझाव रह्यो,उनले भने,‘डोजर आतंक मच्चाएर र विकल्प नदिई हटाउनु भएन, तर यसको नाममा हुकुम्बासी अर्थात नक्कली सुकुम्बासीलाई भने देउ भन्ने होईन ।’ पहिले भूमिहीन, सुकुम्बासीलाई सेतो र रातो निस्सा बाँढ्ने अनि अहिले आएर त्यसै डोजर चलाएर आतंक मच्चाएर नागरिकलाई घरबारविहीन् बनाउनु भएन भन्नेमा आफूहरुले जोड दिएको उनको भनाई थियो ।
नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बसपार्क निर्माणको नाममा वर्षौंदेखि बस्दै आएका नागरिकलाई घरबारविहीन् बनाउन नहुने बताए । बास्तविक भूमिहीन्, सुकुम्बासीलाई विकल्प नदिई जबरजस्ती हटाउँदा नागरिकमा त्रास उत्पन्न हुने उनको भनाई थियो । तर सत्ता र शक्तिको आडमा लालपुर्जा बनाएका र पहुँचका आधारमा सार्वजनिक जग्गा हडपेकाहरुको छानविन गरेर सरकारीकरण गर्नुपर्ने उनले बताए । महानगरले १२८ रोपनीमा बसपार्क बनाउन लागेको हो कि भन्ने आशंकासमेत उनले व्यक्त गरे । हामी बसपार्क निर्माणको पक्षमा छौं,उनले भने,‘तर कसैको उठीबास लगाउने अनि कसैलाई त्यहिं राख्ने कदापी स्वीकार्य छैन । समन्याय स्थापित हुनेगरी हुन्छ भने हामी सघाउन तयार छौं ।’
छलफलमा बसपार्क कति रोपनी क्षेत्रफलमा बनाउन लागेको हो भन्नेबारेमा दलहरुले जिज्ञासा राखेका थिए । जवाफमा उपमेयर मञ्जुदेवी गुरुङले बसपार्क १४८ रोपनी क्षेत्रफलमा बनाउनेगरी डिपीआर बनेको र सोका लागि एडिबीसँग ऋण लिने सहमतीसमेत भइसकेको जानकारी दिईन् । तर अहिले १८७ रोपनी क्षेत्रफलमै बनाउने आवाज उठेकाले त्यसबारे छलफल भइरहेको उनको थप प्रष्टोक्ती थियो ।
२०३२ सालमा पोखरा बसपार्क बनाउन २०५ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पृथ्वी राजमार्गको मापदण्ड, सेती नदी किनारको मापदण्डलगायत कटाउँदै १८७ रोपनी जमिन बाँकी रहने पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । तर केहि व्यक्ति र संस्थाले सत्ता, शक्ति र पहुँचको दुरुपयोग गरेर ३९ रोपनी जमिन हडपेर लालपूर्जासमेत लिइसकेको उनको दाबी छ । सो जग्गासमेतमा बसपार्क बनाईनुपर्ने दलहरुको मत छ । लामिछाने पनि सम्पूर्ण जमिनमा बसपार्क बनाउनुपर्ने बताउँछन् । सुकुम्बासी हटाउने तर हुकुम्बासी र सत्ता, शक्ति र पहुँचको दुरुपयोग गरेर लालपूर्जा निकाल्नेचाहिं बसिरहने कुरा मञ्जुर हुँदैन,नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कास्की जिल्ला संयोजकसमेत रहेका उनले भने,‘सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर हटाउनुपर्छ । अनि सत्ता, शक्ति र पहुँचको दुरुपयोग गरेर लालपूर्जा निकालेकाहरुको पनि छानविन गरेर पीडितलाई विकल्प र हडपेकाको सरकारीकरण गरिनुपर्छ ।’ केहिलाई भने पुरानो एयरपोर्टको सट्टा भर्ना दिइएकाले वैकल्पिक व्यवस्था गर्दा उचित हुने उनको राय छ ।
एमाले कास्की अध्यक्ष क्षेत्रीले पनि जग्गा हडपेकाहरुलाई छाडेर बसपार्क बनाउन उचित नहुने बताएका छन् । ‘बसपार्क पूरै जमिनमा बनाउनुपर्छ । जग्गा हडप्नेलाई त्यहिं राखेर भूमिहीन्, सुकुम्बासी मात्रै हटाउने कुरा हुँदैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं…






