अन्नपूर्ण म्याराथनको छैठौं संस्करण जेठ २० गते


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, जेठ ६

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैठौं संस्करण यहि जेठ तेस्रो साता हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हुने यो म्याराथन जेठ २० गते हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७६ औं वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले बताए।

अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माणका लागि महिला र पुरुष दुवै विधामा प्रतियोगिता आयोजना गरिएको गुरुङले जानकारी दिए । ‘सबै मौसमका लागि पर्यटन’ नारासहित समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, हिन्कुकेभ, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा आएर समापन हुने रुट निर्धारण गरिएको उनले बताए । उनले अन्नपूर्ण म्याराथनलाई अन्र्तराष्ट्रिय ईभेन्टका रुपमा विकास गर्नेगरी निरन्तर आयोजना गरिदै आएको बताए ।

प्रतियोगितामा करीब ७० जना धावकले प्रतिष्पर्धा गर्ने आयोजकको अनुमान छ । हालसम्म ६ देशका ४० धावकले नाम दर्ता गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल, भारत, हल्याण्ड, थाईल्याण्ड, फ्रान्स र अर्जेन्टिनाका १३ विदेशी धावकहरुले नाम दर्ता गराइसकेका छन् । जसमा ३ विदेशी धाविकासमेत रहेको उनले बताए । ‘अर्जेन्टिनाका चर्चित धावक पाव्लो उरेटाले पनि सहभागिता जनाउने निश्चित छ’–उनले भने ।

आयोजकले प्रतियोगिताको सम्पूर्ण प्राविधिक काम हिमालयन एक्सट्रीले गर्ने जनाएको छ । धावकहरुको सुरक्षाका लागि सम्पूर्ण तयारी गरिएको प्राविधिक क्षेत्र हेरिरहेको एक्स्ट्रीका निर्देशक रिकी योञ्जनले जानकारी दिए । उनले भने,‘हाई अल्टिच्यूडदेखि अन्य सबै आईपर्नसक्ने समस्याको समाधान हुनेगरी औषधी उपचारलगायतका पूर्व तयारी गरिएको छ ।’

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रोलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

म्याराथन सम्पन्न गर्न करिब ३८ लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेशन, अर्ना, होटल रक एण्ड मुड र घान्द्रुक रिसोर्टलगायतले सहयोग गरेका उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।