पोखरा ।
गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यसहित ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा ग्राण्ड फिनाले गर्ने तयारी गरेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका प्रतिस्पर्धी सहभागी हुने प्रतिष्ठानले जनाएको छ । लोकसंस्कृति, मौलिकता र लोकभाकाको संरक्षणसँगै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतिष्ठानका अनुसार गण्डकी प्रदेश लोकसंस्कृतिले समृद्ध क्षेत्र हो। सोरठी, झ्याउरे, कौडा, भजन, पञ्चेबाजा लगायतका मौलिक भाका र शैलीलाई जगेर्ना गर्न लोकतारा आयोजना गरिएको प्रतिष्ठानका गण्डकी अध्यक्ष माया गुरुङले जानकारी दिईन् ।
प्रतियोगिताको ग्राण्ड फिनालेमा कास्कीका समिर पुन, पर्वतका शोभा परियार, बागलुङकी ललिता घर्ती मगर, स्याङ्जाका शक्ति छिनाल, तनहुँकी मन्दिरा थापा मगर, गोरखाका निर्मल गुरुङ, लमजुङका योगेश परियार, स्याङ्जाकी बत्ती कुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङकी सविता छिनाल र मनाङकी ममता तामाङ प्रतिस्पर्धामा उत्रिनेछन् ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विजेताले वरिष्ठ सर्जक रमेश बिजीको लय÷शब्दमा अडियो गीत निःशुल्क रेकर्ड गर्ने अवसरसमेत पाउने आयोजकले जनाएको छ । यस्तै दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सान्त्वना स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यसहित ‘दोस्रो गण्डकी…







