अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्व अध्यक्ष तथा भूतपूर्व भारतीय सैनिक सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले उक्त कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली उपन्यास लेखनको इतिहास सिलसिलेवार लिपिबद्ध हुन नसके तापनि उपन्यास लेखन परम्परामा कर्मवीरले एउटा इटा थपेको बताए । उनले युद्ध उपन्यास लेखन परम्परा कम रहेको अवस्थामा यस्ता कृति सबैका लागि प्रिय हुने धारणा राखे । मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले युद्ध केवल हार जीतको विषय मात्र नभएर पछिल्लो समय लेखन र पठनको पनि विषय भएको भन्दै खुसी व्यक्त गरे ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सुमलकुमार गुरुङको सरल, सहज लेखनले आफूलाई कार्गील युद्धताका गाइएको ’पाइन खबर’ गीतको तत्कालीन परिवेशमा पु¥याएको धारणा राखिन् ।गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का बिखर्चीले सुमलको साहित्य लेखन, स्रष्टाप्रतिको सम्मान र बुद्ध दर्शनप्रतिको चिन्तन आफू बेलायत पुग्दा राम्ररी अनुभूत गरेको स्मरण गरे ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले गुरुङको ‘युरोप यात्राका अनुभूति’ आफ्नो युरोप यात्राको सारथि भएको स्मरण गर्दै सुमलको लेखन सामथ्र्यकै कारण नेपालको साझा प्रकाशनबाट कृति प्रकाशित हुनु गौरवको विषय रहेको धारणा राखे ।कृति समीक्षा गर्दै समालोचक असफल गौतमले नेपाली साहित्यमा युद्ध उपन्यास लेखन परम्परा निकै कमजोर रहेको अवस्थामा बन्दुक चलाएको हातले नै युद्ध उपन्यास पाठकमाझ ल्याएकाले कृति विद्यालय–विश्वविद्यालयको पाठ्यक्रमका लागि उपयोगी रहेको बताए ।
तमू प्ये ल्हु संघका अध्यक्ष ओमबहादुर थिम्चे तमूले सुमलकुमार गुरुङको साहित्यिक, सामाजिक, सैनिक हरेक क्षेत्र सबैका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।चित्रेली तमु समाजका संस्थापक अध्यक्ष क्या. नारायणप्रसाद गुरुङले सुमलले १५ वर्ष पल्टनमा सेवापछि अवकाश लिएर सही निर्णय गरेकाले आज साहित्यकारका रूपमा पनि चिन्न पाएको भन्दै खुसी व्यक्त गरे ।तमू धीँ नेपालका अध्यक्ष होम तमूले गुरुङको पहिलो कृति लोकार्पणमा परिचयात्मक टिप्पणी राखेको स्मरण गर्दै आफ्नै भवनमा उपन्यास लोकार्पण गर्न पाउँदा गौरव लागेको धारणा राखे ।गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष गौरी गुरुङले सुमलकुमार गुरुङका बहुआयामबारे प्रकाश पार्दै सफल कर्मवीर र कलमवीरका रूपमा चित्रण गरिन् ।
लेखक सुमलकुमार गुरुङले आफ्नो जन्मभूमि चित्रेदेखि कार्गिल युद्धसम्मको परिवेशलाई उपन्यासमा लेखेको बताउँदै समारोहमा पुस्तक बिक्रीबाट जम्मा भएको १५ हजार रुपैयाँ तमु धीँ नेपालको कोषका लागि अध्यक्ष हुम तमुलाई हस्तान्तरण गरे ।अनेसास आमा सारादेवी गुरुङले एउटा सर्जकको सारथि भएर सहयोग गर्न पाएकोमा गौरवबोध भएको धारणा व्यक्त गरिन् ।तमु सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष चिजकाजी गुरुङले युद्ध साहित्य लेखनमा गुरुङ समुदायबाट डा. चन्दबहादुर गुरुङ र सुमलकुमार गुरुङको योगदान सुनौला अक्षरले लेखिने बताउँदै सुमलको ‘मेजर अर्जुनको औँँठी’ कथासङ्ग्रहसमेत पढ्नका लागि सुझाए ।तमु सांस्कृतिक प्रतिष्ठानकी महासचिव कञ्चन गुरुङले पुरानो कोट लगाऊ नयाँ पुस्तक किन भन्ने मान्यतालाई आत्मसात गरेर पठन संस्कारमा लाग्नुपर्नेमा जोड दिइन् ।हिमाली सांस्कृतिक परिवारका कलाकारको सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको थियो । समारोहमा विभिन्न संघसंस्थाले लेखकको आगामी लेखन यात्राको सफलताको कामनासहित शुभेच्छा सम्मान व्यक्त गरेका थिए ।
साझा प्रकाशनले प्रकाशित गरेको युद्ध उपन्यास कर्मवीरको बजार मूल्य ३५० रूपैयाँ रहेको छ । यसअघि उनका यात्रा स्पर्शको अनुभूति (नियात्रा), मुक्तक महक, बेलायतका कवि र कविता, यात्रास्पर्श (कविता), खोज्दैछु नेपाल (कविता), फेरि हङकङको सेरोफेरो (नियात्रा), मेजर अर्जुनको औँठी (कथा), युरोप यात्राका अनुभूतिहरू (नियात्रा) कृति प्रकाशित छन् । प्रकाशित कृति हिसाबले १० औं र विधागत हिसाबले युद्ध उपन्यास उनको पहिलो कृति हो । डागर स्मृति साहित्य पुरस्कार २०६९, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०७०, उत्कृष्ट साहित्य पुरस्कार २०७० लगायतका पुरस्कारबाट विभूषित भइसकेका उनी कुशल स्रष्टा, साधक, सङ्गठक र समाजसेवी व्यक्तित्वसमेत हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १६ जेठ । व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदयमान प्रवृत्तिबारे केन्द्रित प्रथम…







