पोखरा, १७ जेठ ।
नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर–किशोरीको संख्या बढेसँगै अनलाइन दुर्व्यवहारको जोखिम पनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भ्वाइस अफ चिल्ड्रेनले पोखरामा आयोजना गरेको ‘बालअधिकार प्रवर्द्धन र अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अध्ययन तथा सरकारी तथ्याङ्कले बालबालिका अनलाइन यौनजन्य सन्देश, अश्लील सामग्री र विभिन्न प्रकारका साइबर दुर्व्यवहारको जोखिममा रहेको देखाएको हो। कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् २०२३ मा १३ देखि १८ वर्ष उमेर समूहका ५१४ जना बालबालिकामाथि गरिएको अध्ययनका नतिजा सार्वजनिक गरे।
अध्ययनअनुसार सहभागी बालिकामध्ये ३८.६ प्रतिशतले यौनजन्य सन्देश प्राप्त गरेको बताएका छन्। ३४ प्रतिशतले अश्लील तस्बिर र १३.६ प्रतिशतले अश्लील लिङ्क वा भिडियो प्राप्त गरेको बताएका छन्। ६.८ प्रतिशत बालिका अन्य प्रकारका अनलाइन दुर्व्यवहार र शोषणमा परेको अध्ययनले देखाएको छ। बालकको अवस्था पनि फरक नरहेको अध्ययनले देखाएको छ। सहभागी बालकमध्ये ३२.३ प्रतिशतले यौनजन्य सन्देश, २९.२ प्रतिशतले अश्लील तस्बिर तथा १५.४ प्रतिशतले अश्लील लिङ्क वा भिडियो प्राप्त गरेको बताएका छन्। ६.२ प्रतिशत बालक अन्य अनलाइन दुर्व्यवहारमा परेको तथ्याङ्कमा उल्लेख छ। अध्ययनअनुसार ९७ प्रतिशत बालबालिकाको इन्टरनेटमा पहुँच रहेको छ।
तर सहभागी ९९ प्रतिशत अभिभावकसँग इन्टरनेट सुविधा भए पनि अनलाइन बालयौन दुर्व्यवहार, कानुनी व्यवस्था, उजुरी प्रक्रिया तथा डिजिटल साक्षरताबारे पर्याप्त जानकारी नभएको पाइएको छ। त्यसैगरी नेपाल प्रहरी साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ७७२ जना बालबालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा ३५१ बालक र ४२१ बालिका रहेका छन्।
सार्वजनिक तथ्याङ्कले अनलाइनमा हुने बालबालिकासम्बन्धी ८१ प्रतिशतभन्दा बढी घटना फेसबुकमार्फत हुने गरेको देखाएको छ। कार्यक्रमका सहभागीहरूले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा बालबालिकाको डिजिटल सुरक्षा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै अभिभावक, विद्यालय, सञ्चारमाध्यम र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। कार्यक्रममा सञ्चारकर्मीहरूले बालअधिकार तथा अनलाइन सुरक्षासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठान गरी सचेतना अभिवृद्धिमा योगदान दिनुपर्नेमा जोड दिइएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १७ जेठ । नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर–किशोरीको संख्या बढेसँगै अनलाइन…







