नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०८३ मा प्रकाशित




कुनै पनि बिषयमा विधिसम्मत ढङ्गले गरिने अनुसन्धानले मात्रै सार्थकता पाउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयद्वारा पोखरामा सञ्चालित गोष्ठीमा सहभागि शिक्षाविद्ले अनुसन्धान अघि गरिने छलफलले प्रतिवेदनलाई सार्थक बनाउने बताए । भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. त्रिभुवन बरई र पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक डा. श्रीधर न्यौपानेले प्रस्तुत गरेको ‘समसामयिक नेपाली कवितामा पर्यावरणीय सचेतता’ शीर्षकमा अनुसन्धान गर्नु पुर्व गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. दुविनन्द ढकालले यस प्रकारको गोष्ठीले अनुसन्धान वैध, विश्वसनीय र फलदायी हुने बताए । उनले पर्याप्त सुझाव र छलफलबाट निस्कने निष्कर्ष नै आधिकारिक र यर्थाथमुलक हुनेमा जोड दिए ।

अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. ईश्वर कोइरालाले इमान्दारी र आर्थिक पारदर्शितालाई ख्याल गर्दै अनुसन्धान गर्न सुझाव दिए । अनुसन्धान विशेषज्ञका रूपमा रहेका प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. महादेव अवस्थी, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रा.डा.लक्ष्मणप्रसाद गौतमले अनुसन्धानका प्रक्रियालाई विधिसम्मत ढङ्गले प्रयोग गरी प्रतिवेदन तयार पार्नुपर्ने बताउँदै, यस किसिमको अध्ययन अनुसन्धानले पर्यावरण संरक्षणको क्षेत्रमा समेत फलदायी हुने स्पष्ट पारे ।

प्रसिद्ध पर्याकवि कृष्ण बाउसेले नेपाली पर्याकविताको क्षेत्र र अनुसन्धानविज्ञ डाक्टर देवराज आचार्यले अनुसन्धान प्रक्रियाका बारेमा स्पष्ट पारेका थिए । नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेले अनुसन्धाताद्वयलाई समयमै स्तरीय अनुसन्धान सम्पन्न गर्न सुझाव दिए । अनुसन्धाता डा. त्रिभुवन बरई र डा.श्रीधर न्यौपानेले आफुहरुले गर्न लागेको अनुसन्धानको क्षेत्र र समस्याका बारेमा जानकारी गराएका थिए ।

नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. न्यौपानेको अध्यक्षतामा भइको कार्यक्रमको संचालन अनुसन्धानकर्ता डा.श्रीधर न्यौपानेले गरेका थिए । गोष्ठीमा नेपाली केन्द्रीय विभागका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।