जनप्रिय बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको २१ औँ स्मृति दिवसमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रमलाई खाद्यान्न वितरण र नगद हस्तान्तरण गरको छ ।
संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको २१ औं स्मृति दिवसका सन्दर्भमा शुक्रबार बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीले भने, पालिखे सरको शैक्षिक, राजनीतिक, उद्यमी, व्यावसायिक जीवन कडा परिश्रम र संघर्षले नै सफल भएको बताए । आफ्नो समयको नेतृत्वदायी भूमिका खेलेका पालिखेले क्याम्पस कै लागि ज्यानको आहुति दिई शिक्षा मै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व भएको जानकारी दिए ।क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसमा पढ्दा पालिखे सरबाट आफू प्रभावित भएको बताउँदै उनको पदचाप पछ्याई जनप्रियलाई पूर्ण डिजिटलाइज्ड गराउने, प्रविधिमैत्री पठनपाठनको वातारण बनाउने र क्याम्पसलाई थप उचाइमा पु¥याउने प्रतिवद्धता गरे ।
निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए । पोखरा उद्योग वाणिज्य संंघकी महासचिव शोभा गौतम, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ जनप्रिय एकाइका अध्यक्ष नरेश बराल, कर्मचारी सङ्घ जनप्रिय एकाइका अध्यक्ष देवी पनेरु, पालिखेकी धर्मपत्नी गंगादेवी पालिखे लगायतका वक्ताले क्याम्पसलाई गतिशील र क्रियाशील शैक्षिक संस्थाका रूपमा स्थापित गर्न संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, क्याम्पसलाई केन्द्रमा राखी कार्यसम्पादन गर्न क्याम्पस प्रशासनलाई सुझाए ।
स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण गरिएको छ । पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी छन् । स्मृति दिवसका सन्दर्भमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रम छोरेपाटनमा २२ हजार बराबरको खाद्यन्य र परिवारको तर्फबाट नगद ५ हजार हस्तान्तरण गरिएको उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए । समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।
२०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्गामा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मासबारस्थित स्टेप वाई स्टेप मा. विमा अन्तरसदनात्मक अङ्गे्रजी हिज्जे प्रतियोगिता सम्पन्न…







