पश्चिमाञ्चल माविमा अभिमुखिकरण


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८३ मा प्रकाशित




पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शनिबार अभिमुखिकरण गरेको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले विद्यार्थीका लागि लागुऔषधबारेको सचेतना, साइवर सुरक्षा लगायतबारे जानकारी गराएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर कक्षा ११ मा भर्ना भएका विभिन्न विषयका विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय युवापुस्तामा लागुऔषधको दुरुपयोग बढेको तथा साइवर सुरक्षाबारे चूनौती थपिएकोले उनीहरुलाई त्यसबाट जोगाउनका लागि सचेतनामुलक कार्यक्रम गरेको उनले बताए । कार्यक्रममा प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले पछिल्लो समय युवायुवती लागुऔषधमा फस्ने गरेको र उनीहरुलाई त्यसबारेमा सचेत गराउन यस्ता कार्यक्रम फलदायी हुने बताए । उनका अनुसार साथीभाईको लहैलहैमा लागेर धेरै युवाहरु अहिले लागुऔषधको प्रयोगमा फस्ने गरेका छन् । उनीहरुलाई जोगाउनका लागि पनि विद्यालय तहमा यस्ता कार्यक्रम जरुरी रहेको उनले बताए ।

त्यसैगरि पछिल्लो समय सामाजिक सञ्जालको दूरुपयोग बढ्दै गएकोबारे पनि विद्यार्थीलाई सचेत गराइएको थियो । प्रविधिको विकाससँगै चूनौती र दूरुपयोग थपिएको प्रहरी निरिक्षक सापकोटाको भनाई छ । उनले विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट बच्न र साइवर सुरक्षाबारे ख्याल गर्न आग्रह पनि गरेका थिए ।पश्चिमाञ्चल फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यार्थीले सही समयमा उपयुक्त विषय अध्ययन गरेमा भविश्य उज्जवल हुने बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले पनि विद्यार्थीलाई मेहनतका साथ अध्ययन गर्न सुझाइन ।

कार्यक्रममा शिक्षक उमेश रेग्मी, सिनिय इन्चार्ज विजयराज अधिकारीले पनि विद्यार्थीलाई सुझाएका थिए । पश्चिमाञ्चल माविमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन, मानविकी संकायमा अध्यापन हुन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।