पोखरामा क्रिकेट सम्बन्धी दुई दिने तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     असार ३ गते २०८३ मा प्रकाशित




पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ ।

किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा संचालित तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पाइरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी, तथा आशिष बरालले स्कोरिङ सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिमका सहभागीहरूलाई गिरासा प्रतिनिधि बसन्त पराजुली सञ्जय आत्रेय लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कास्कीसँगै गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा क्रिकेट गतिविधि बढ्दै जाँदा प्राविधिकहरूको अभावका कारण प्रतियोगिता आयोजनामा समस्या देखिएकाले यो तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बबिन कुँवरले जानकारी दिए । यो तालिमले पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आगामी शनिबारदेखि पोखरामा सुरु हुन लागेको अन्तर विद्यालय छात्र÷छात्रा क्रिकेट प्रतियोगिता सञ्चालनमा सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कुँवरको भनाई छ ।

तालिममा कास्की, पर्वत, स्याङ्जा र तनहुँबाट विभिन्न विद्यालयका सम्बन्धित शिक्षक, पूर्व खेलाडी तथा क्रिकेट प्रेमीहरू सहित ३६ जनाको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।