पक्की पुल बनेपछि बागलुङको काठेखोलामा बर्सातमा सडक बन्द हुने समस्या हट्यो


     एभरेस्ट आवाज    
     असार ४ गते २०८३ मा प्रकाशित




सडकको पहुँच पुगेको २८ वर्षपछि बागलुङको काठेखोलास्थित डुडियामा पक्की पुल निर्माण भएको छ ।

उक्त पुल बनेपछि त्यस क्षेत्रमा अब बाह्रै महिना सवारीसाधनको पहुँच सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा २० मिटर लम्बाइ र ८।४० मिटर चौडाइको त्यो पुल निर्माण भएको हो ।पुलले काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोडेको छ । प्रदेश सरकारको रु तीन करोड ६२ लाख २२ हजार लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर दीपेश रिगलले जानकारी दिए ।

विसं २०८० कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त पुल एक महिनाअघि सम्पन्न भएपछि सञ्चालनमा आएको इन्जिनियर रिगलले बताए । पुल सञ्चालनमा आएसँगै काठेखोला गाउँपालिका–२ भिमपोखरा, वडा नम्बर ३ धम्जा, वडा नम्बर ४ तङ्ग्राम, म्याग्दीको भम्किले र ताराखोला गाउँपालिका सल्ने सवारीसाधन बाह्रै महिना सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए ।

त्यहाँ पक्की पुल नहुँदा बर्खाको चार महिना जिल्ला सदरमुकाम बागलुङ आउजाउन गर्न निकै समस्या थियो । बर्खामा सडक बन्द हुँदा किसानले उत्पादन गरेको दूध, तरकारी र फलफूल बजार पठाउन मात्र नभई स्थानीयलाई यात्रा गर्न र सामान ढुवानीमा पनि उस्तै कठिनाइ थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।