पोखरा बसपार्कमा चल्यो डोजर, ढले घर, टहरा


     एभरेस्ट आवाज    
     असार ४ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार ४

पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्र भित्रका टहरा भत्काउन शुरु गरेको छ । पोखरा बसपार्क क्षेत्र भित्र पर्ने ठाउँमा बनाइएका संरचना महानगरले विहीबार डोजर लगाएर भत्काएको हो ।

महानगरले दिएको समयसीमा घर्किएपछि विहीबार महानगर टहरा भत्काउन ३ वटा डोजर लिएर पुगेको थियो । सो डोजरले बसपार्कको उत्तरी क्षेत्र पृथ्वी राजमार्गसँगै जोडिएका क्षेत्र र दक्षिणी क्षेत्र (सुकुमबासी बस्ती भन्दा पश्चिम)तर्फको भागमा रहेका घर, टहरा भत्काएको छ । भत्काइएका घर, टहरा व्यक्तिको लालपूर्जा भएको जग्गामा बनेको हो । यद्वपी सो जग्गा बसपार्क भित्रै पर्दछ । २०३२ सालमा बसपार्क बनाउन २०५ रोपनी जग्गा खरिद गरिए पनि कसैलाई एयरपोर्ट बनाउन जग्गा अधिग्रहण गर्दा त्यसको सट्टाभर्नामा दिइएको त कतिपयलाई उपत्यका नगर विकास समितिको निर्णयबाट सोझै दिएको पाइएको छ । त्यस्तै, कतिपयले दवाब, प्रभाव र पहुँचका भरमा पनि लालपूर्जा बनाएको आरोप लाग्दै आएको छ । सोहि जग्गामा बनेका घर, टहरामा विहीबार डोजर चलेको हो ।

राजमार्गको दक्षिणपट्टी मूल रोडसँग जोडिएका करीब ४०/४५ घर, टहरा तथा दक्षिणतर्फको करीब एक सय घर, टहरा भत्काइएको पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुषोत्तम थापाले जानकारी दिए । सहमती अनुसार घर, टहरा पहिल्यै खाली भइसकेका थिए, उनले भने,‘खाली घर, टहरा आज भत्कायौं ।’

महानगरले दिएको समयसीमा भित्रै त्यस क्षेत्रका व्यवसायी तथा घरधनीहरुले घर तथा टहरा छाडिसकेका थिए । सो क्षेत्र खाली गराउन महानगर र स्थानियबासीबीच सहमती भएको थियो । स्थानियले महानगरले दिएको समयसीमा भित्र घरटहरा भत्काउने र महानगरले स्थानियबासीका लागि आवश्यक वैकल्पिक ब्यबस्था गर्ने सहमती भएको थियो । सोहि सहमती अनुसार स्थानियले घर, टहरा खाली गरेका थिए । सो खाली घर, टहरा भत्काउन पुग्दा स्थानिय कोहि पनि देखिएनन् भने अवरोधसमेत गरेनन् । खाली घर, टहरामा महानगरको डोजर चलेपछि पृथ्वीचोकको पूर्वी क्षेत्रमा पर्ने सो क्षेत्र उजाड बनेको छ ।

खाली घर, टहरामा चलेको डोजर पेट्रोल पम्पमा पुगेपछि भने रोकिएको छ अति प्रज्वलनशील पदार्थ पेट्रोलपम्पमा डोजर चलाउनु भन्दा पेट्रोलपम्प धनीलाई नै पेट्रोल पम्प सार्नका लागि समय दिइएपछि विहीबार त्यहाँ डोजर नचलेको हो । त्यहाँ केहि दिन पछि मात्रै डोजर चल्ने पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) थापाले बताए । आज खाली घर, टहरामा मात्रै चलाउने आदेश थियो,उनले भने,‘अति प्रज्वलनशील पदार्थ भएको पेट्रोलपम्प सार्न पेट्रोलपम्प धनीलाई नै भनिएको छ र उहाँ सार्न तयार हुनुहुन्छ ।’ केहि दिन पछि पेट्रोलपम्प सर्ने उनेको दाबी छ । त्यसपछि त्यहाँ बाँकी रहेका संरचना भत्काईने उनको भाई छ ।

महानगरले बसपार्क क्षेत्र भित्रको बास्तोला कम्प्लेक्स पनि विहीबार भत्काएन । शुक्रबारसम्मको म्याद दिइएकाले नभत्काइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । सहमती अनुसार दिइएको समयसीमा भित्र आफ्नो सामान व्यवस्थापन गरिसक्न अनुरोध गरिन्छ,उनले भने,‘सम्बन्धित पक्षहरुको अनुरोध र आपसी सहमती अनुसार बाँकी सटर, कबल तथा छानाहरु शुक्रबारसम्म हटाईसक्न अनुरोध गर्दछु । अन्यथा शनिबार पुनः डोजर लगाएर सबै संरचना हटाईन्छ ।’

विहीबार भत्काइएका घर, टहराका अवशेष तथा सामग्रीहरु शुक्रबार हटाईने जनाइएको छ । भत्काएर छरिएका सामग्रीहरु विहीबार टिप्पर ल्याएर हटाईने महानगर सुरक्षा प्रमुख थापाले बताए । ‘यो हामी तत्कालै व्यवस्थापन गर्छौं’–उनले भने ।

वैकल्पिक व्यवस्था भएपछि मात्रै सुकुमबासी बस्ती हटाईने

पोखरा बसपार्कको जग्गामा रहेका सुकुमबासी बस्ती भने तत्काल नहटाईने भएको छ । वैकल्पिक ब्यबस्था नभएसम्म सुकुमबासी बस्ती नहटाउने महानगरले तयारी गरेको हो । यसअघि सुकुमबासी बस्ती तत्काल हटाउने भन्दै महानगरले बारम्बार सूचना निकालेर ताकेता गरेको थियो । तर सुकुमबासीले वैकल्पिक ब्यबस्था नभएसम्म नहट्ने अडान लिएपछि महानगर डोजर लगाउने निर्णयबाट पछि हटेको हो ।

सुकुमबासी तथा वैकल्पिक व्यवस्थाका लागि महानगरले विभिन्न उपसमिति बनाएको छ । महानगरले सुकुमबासी तथा वैकल्पिक व्यवस्था गर्नुपर्ने लालपूर्जा भएकाहरुको लागि पनि जग्गा छानविन गर्न जग्गा सिफारिस समिति, जग्गा तथा सुकुमबासी व्यवस्थापन सम्बन्धी कार्य लालपूर्जा भएका जग्गा धनीहरुको वितरण प्रक्रिया तथा क्षेत्रफल यकीन गरि सिफारिस गर्न न्यायीक निरुपण समिति तथा सुकुमबासी यकीन गरि सिफारिस गर्ने छानविन समिति, जग्गाको प्राविधिक नापजाँच तथा जग्गामा प्राविधिक जटिलता –मोठमा लालपूर्जा कायम रहे÷नरहेको पत्ता लगाउन अध्यष्यन, परीक्षण तथा सिफारिस समिति बनेका छन् । यी समितिहरुको काम नसकिएकाले म्याद थप गरिएको उनले जानकारी दिएका छन् । यी समितिहरुले द्रुत गतिमा काम गरिरहेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बताए । उनले भने,‘समितिले द्रुत गतिमा काम गरिरहेको छ र महानगरको तर्फबाट आवश्यक समन्वय भइरहेको छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।