ओलम्पिक दिवस अवसरमा माउन्ट अन्नपूर्ण माविमा विविध कार्यक्रम


     एभरेस्ट आवाज    
     असार ६ गते २०८३ मा प्रकाशित




अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (२३ जुन) अवसरमा नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविमा विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू भएका छन् ।

विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित कार्यक्रममा नेपाली वक्तृत्वकला प्रतियोगिता, अंग्रेजी स्पेलिङ बी प्रतियोगिता तथा मैत्रीपूर्ण योग अभ्यास कार्यक्रम सञ्चालन गरिएको एकेडेमिक हेड सेजल बिजुक्छेले बताइन् ।

वक्तृत्वकलामा कक्षा ९ र १० का १५ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीहरूले ‘समाजमा खेलकुद तथा ओलम्पिकको भूमिका’ र ‘व्यक्तित्व निर्माणमा आत्मविश्वास र खेलकुदको महत्व’ विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । जसमा कक्षा १० का अनुपम पौडेल प्रथम, कक्षा ९ की अन्तिमा विश्वकर्मा द्वितीय, कक्षा ९ की कृष्टी नेपाली तृतीय तथा कक्षा १० का तुफान गर्बुजाले सान्त्वना भए ।

त्यसैगरी, अंग्रेजी स्पेलिङ बी प्रतियोगिताअन्तर्गत ४ हाउसबीच प्रतिस्पर्धा भएको थियो । जसमा ब्लु हाउस प्रथम, ग्रीन हाउस द्वितीय, रेड हाउस तृतीय तथा एल्लो हाउस चौथो भएको अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले बताए ।

यसै अवसरमा विद्यालय परिसरमा मैत्रीपूर्ण योग अभ्यास कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सो अभ्यासमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ । योग अभ्यासको प्रशिक्षण पातञ्जल योगका प्रशिक्षक नवराज पौडेलले सहजीकरण गरे ।

यसैबीच, दिवसकै अवसरमा बिहीबार कास्की जिल्ला खेलकुद विकास समितिमा बिहीबार एक कार्यक्रम आयोजना गरियो । समितिका पदाधिकारी, विभिन्न खेल संघका प्रशिक्षकसमेत उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नेपाल ओलम्पिक एकेडेमी अध्यक्ष तेजबहादुर गुरुङले गरे ।

सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले खेलकुदसँग सम्बन्धित यस्ता कार्यक्रम खेलकुदको विकासको लागि उपयोगी हुने उल्लेख गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिवसमेत रहेका नेपाल ओलम्पिक एकेडेमी अध्यक्ष गुरुङले माइन्डफुलनेस मेडिटेसन तथा ओलम्पिक अभियानबारे प्रस्तुतीकरण दिए । उनले खेलकुद केवल मनोरञ्जन, जित र हारसँग मात्र सम्बन्धित नभई, समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको औंल्याए । उनले प्राचीन ओलम्पिकको इतिहास, उत्पत्ति, विकासक्रम तथा अन्तर्राष्ट्रिय एकताको प्रतीक रूपमा यसको महत्व दर्शाए ।

एकेडेमी आयोजनामा पोखरामा २ देखि ९ असारसम्म विविध कार्यक्रम भइरहेका छन् । यसअघि, एकेडेमीले प्रदेश खेलकुद परिषद् गण्डकीमा पनि यस्तैप्रकारको कार्यक्रम गरेको थियो । शनिबार पोखरा वडा कार्यालय ९ को सहकार्य तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा ५ किमी सडक दौड प्रतियोगिता हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।