पोखरा, असार १४
कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्षौंदेखि निर्माणाधीन सडक समयमै सम्पन्न नहुँदा दैनिक आवागमनदेखि स्थानीय अर्थतन्त्रसम्म प्रभावित भएको उनीहरूको गुनासो थियो।
मादी गाउँपालिकाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा वडा नं. ७ छाचोकमा सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागीहरूले सडक निर्माणमा देखिएको सुस्त गति, धुलो, हिलो तथा निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयले सास्ती खेप्नुपरेको बताएका थिए। उनीहरूले निर्माणको गति बढाई तोकिएकै समयमा काम सम्पन्न गराउन प्रशासनले प्रभावकारी पहल गर्न माग गरे।
स्थानीयले लोकमार्गसँगै खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि तथा सामाजिक सुरक्षा सेवाका विषयमा पनि प्रश्न उठाए। तर अधिकांश वक्ताले मध्यपहाडी लोकमार्गको ढिलाइ नै मादीको विकासको प्रमुख अवरोध बनेको धारणा राखेका थिए।
सार्वजनिक सुनुवाइमा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख तथा गाउँपालिकाका जनप्रतिनिधिले उठाइएका गुनासाको जवाफ दिँदै लोकमार्ग निर्माणलाई तीव्र बनाउन सम्बन्धित निकाय र निर्माण कम्पनीसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीयले सार्वजनिक सुनुवाइ औपचारिकतामा सीमित नभई उठाइएका विषयको कार्यान्वयन र अनुगमनमा समेत जोड दिन आग्रह गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






