वाराही मा.विलाई चमेनागृह भवन हस्तान्तरण


     एभरेस्ट आवाज    
     असार १५ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका ५ स्थित वाराही माध्यमिक विद्यालयमा करिब दुई करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक चमेनागृह भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ।

भवन निर्माणमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जेको पहल तथा लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनको आर्थिक सहयोग रहेको थियो।भवनको सोमबार उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि तथा लायन्स मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापाले आफू डिस्ट्रिक्ट गभर्नर रहेका बेला देखेको सपना साकार भएको बताउँदै कठिन मेहनत र निरन्तर प्रयासपछि भवन निर्माण सम्पन्न भएको उल्लेख गरिन्।पूर्व डिस्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले भवन लायन्स क्लब इन्टरनेशनलको मापदण्डअनुसार निर्माण गरिएको बताउँदै चमेनागृहका लागि आवश्यक सम्पूर्ण पूर्वाधार समावेश गरिएको जानकारी दिए।

पोखरा(५ का अध्यक्ष विष्णुप्रसाद बरालले वाराही माविमा नेपालका ६५ जिल्लाबाट आएका निम्न आय भएका विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संस्थाले विद्यालयको पूर्वाधार विकासमा गरेको सहयोगप्रति आभार व्यक्त गरे।डिस्ट्रिक्ट गभर्नर मिलनबाबु मल्लले भवन निर्माण प्रक्रिया, उद्देश्य र सहयोगी संस्थाहरूको योगदानबारे जानकारी गराएका थिए। विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, लायन्सका इलेक्ट गभर्नर प्रजापति बास्तोला, क्याबिनेट सेक्रेटरी पुरुषोत्तम बस्नेतलगायतले कार्यक्रममा बोलेका थिए ।परियोजनामा विद्यालयले कुल लागतको २५ प्रतिशत योगदान गरेको छ भने लायन्स क्लब अफ पोखरा चौतारी र लायन्स क्लब अफ पोखरा सेतीगण्डकीले समन्वय गरेका थिए। भवन निर्माण कार्य सम्पन्न गर्न करिब डेढ वर्ष लागेको जनाइएको छ।

भवन निर्माणका इन्जिनियर प्रविण बास्तोलाका अनुसार भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। भविष्यमा आवश्यकता अनुसार पाँचदेखि छ तलासम्म थप्न सकिने संरचना रहेको तथा माथिल्लो तलामा बहुउद्देश्यीय हल निर्माण गर्न सकिने गरी डिजाइन गरिएको उनले बताए। उनका अनुसार भवनमा अत्यधुनिक किचेन, फराकिलो डाइनिङ क्षेत्र, दुईटा युरोगार्ड प्रणाली, फायर सेफ्टी प्रणालीसहित आधुनिक सुविधा जडान गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।