पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुँदै


     एभरेस्ट आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार १६

पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा यहि असार २० गते शनिबार पोखरा–५ मालेपाटन डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसर तथा कफी बगैँचामा कफी प्रदर्शनी तथा कफी कपिङ च्याम्पीयनसीप आयोजना गर्न लागेको हो । कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने जनाइएको छ ।

‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित आयोजना हुने सो कार्यक्रम विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए । कार्यक्रममा देशभरका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुने उनले बताए । कफी उत्पादन हुने करीब २० जिल्लाका कफी उत्पादक, प्रशोधनकर्ता, व्यवसायी तथा प्रतियोगी सहभागी हुनेछन्,उनले भने,‘कार्यक्रममा कोशी, वागमती, लुम्विनी र गण्डकी प्रदेशका ईलामदेखि गुल्मीसम्मका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुनेछन् ।’

कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुने क्षेत्री निर्देशक पुरीले बताए । देशभरका कफीहरुकोस्वाद र गुणस्तरसहित समग्रताको आधारमा मूल्याङ्कन गरि बिजेता घोषणा गरिने सो कफी कपिङ च्याम्पीयनसीपमा देशभरका किसानहरुले सहभागिता जनाउने उनको दाबी छ । प्रतिष्पर्धाका लागि २० जिल्लाका ३२ किसानले नाम टिपाईसकेको उनको भनाई छ । बिजेता किसानले १० हजार, उपविजेताले ७ हजार ५ सय र तृतीय हुनेले ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गर्ने उनले जानकारी दिए ।

त्यसबाहेक सो अवसरमा कफी नर्सरी र बगैँचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ, कफी बार तथा उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन तथा पहिचान प्रतियोगिता, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य श्रृङ्खलाको प्रदर्शनी, कफी मेसिन प्रदर्शनीलगायतका कार्यक्रम रहने उनले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कफीको उत्पादन चुनौतिदेखि गुणस्तर सुधारसम्बन्धी प्यानल डिस्कसनसमेत हुनेछ । सो अवसरमा कफी विज्ञबाट प्राविधिक परामर्श तथा कफीसम्बन्धी मनोरञ्जनात्मक गतिविधि पनि समावेश गरिने उनले जानकारी दिए ।

कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने आयोजकले विस्वास लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।