पोखरामा आयोजित रोजगार मेलामा जागिर खोज्नेहरुको लर्को


     एभरेस्ट आवाज    
     असार १९ गते २०८३ मा प्रकाशित




पोखरा,१९ असार । पोखरामा शुक्रबार आयोजना भएको रोजगार मेलामा जागिरमा भाग्य अज्माउनेहरुको ठूलो भिड देखियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन एवं पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्स प्रालिको आयोजनामा भएको मेलामा सयौंले जागिर पनि सुनिश्चित गरे ।
पोखरा महानगरपालिकाअन्तर्गत व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार पोखरा जब फेयर २०२६ मा आफूले चाहेको जागिरका निम्ति अनलाइनबाट पनि आवेदन माग गरिएीको थियो । उनका अनुसार करिव १८ सय जनाले अनलाइनबाट आवेदन दिएका थिए भने ५ हजारको हाराहारीमा युवायुवतीहरु त्यहाँ रहेका ५१ वटा स्टलमा जागिरबारे जानकारी लिन पुगेका थिए । कति जनाको जागिर सुनिश्चित भयो भन्नेबारे चाहिँ केही दिनमा थाहा हुने उनले बताए । पोखरा ६  बुलौंदीमा रहेको इभेन्ट सेण्टरको भिड हेर्दा उनी सत्यको नजिक देखिए ।

 यसअघि मेलाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । उनले उद्यमशिला विकास, रोजगारी सृजना र स्वरोजगारीयुक्त जनशक्ति तयार गर्ने सन्दर्भमा पोखरा महानगरपालिका निरन्तर लागिरहेको बताए । महानगरले नगरवासीलाई दक्ष र सीपयुक्त बनाउँदै रोजगारीसँग जोड्ने तथा  आवश्यक परे बीउपूँजी पनि उपलब्ध गराउने काम अगाडि बढाए पनि नगर क्षेत्रबाट सोचेजस्तो जागिरको खोजी नभएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले रोजगारी खोज्नु स्वभाविक भए पनि युवाहरुले उद्यमशिलतातर्फ पनि पाइला चाल्नुपर्ने बताए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले
हरेक वर्ष श्रम बजारमा आउने ५ लाख हाराहारी युवाहरुलाई कसरी देशमै रोक्ने,कसरी सिर्जनशील तुल्याउने भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।
उनले भने,‘कुनै पनि देश रेमिट्यान्सले धनी हुँदैन । धनी हुनको लागि उत्पादकत्व बढ्नुपर्छ । उद्योग÷व्यवसाय गर्नुपर्छ । मुख्य कुरा युवा जनशक्ति देशमै बस्ने वातावरण निर्माण हुनुपर्छ । ’

जागिर खोज्ने जनशक्तिमात्र नभएर जागिर दिने जनशक्ति उत्पादन अपरिहार्य भएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका  कार्कीले थपे,‘नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघ अहिले पनि जागिरमुखी मानसिकता हैन कि सिर्जनशील मानसिकताको विकास हुनुपर्छ,हाम्रा विश्वविद्यालयहरुले सर्टीफिकेट बोकेर जागिर खोज्न धाउने जनशक्ति हैन कि उद्योग÷व्यवसाय गर्ने साहसिक मनहरु जन्माउनु पर्छ भन्ने धारणा राख्छ । हामीले हाम्रो तर्फबाट त्यसका निम्ति सक्दो प्रयत्न गरिरहेका छौँ । ’
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्की, १७ की अध्यक्ष राधिका शाही ठकुरी,महानगरका  प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल,पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला, ग्रोथ नेपाल प्रालिका संस्थापक मोहन ओझा,नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा कोइरालालगायतले मन्तव्य राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेशचन्द्र बास्तोलाका अनुसार मेलामा रोजगार चाहनेहरुले आफ्नो व्यक्तिगत विवरण पेश गर्नेदेखि रोजगारदाताबाट आफूलाई चाहिएको जनशक्तिको खोजी भएको थियो । रोजगार मेलामा लक्ष्मी समूहदेखि भाटभटेनी सुपर मार्केट,गोर्खा ब्रुअरी, सोल्टी वेष्ट पोखरा,अन्नपूर्ण केवलकार,सेल्सबेरी,एनपीएल, ब्ल्याकटेक प्रालि,आइएमई खल्ती लिमिटेड,वल्र्डलिङ्क कम्युनिकेसन,प्रमु महालक्ष्मी इन्स्योरेन्स लिमिटेड,रमेश कर्प प्रालि,नेपाल मणिपाल टिचिङ अस्पताल प्रालि,थियोगो क्लिन इनर्जि प्रालि,सिद्धीविनायक स्न्याक्स एण्ड नुडल्स,मुक्तिनाथ विकास बैंक,होलट बाराही,आइएमई अटोमोवाइल्स,धरोहर कन्सल्ट्यान्स एण्ड कन्सल्टिङ प्रालि,सिटिजन लाइफ इन्स्योरेन्स,अटोवेज प्रालि,पोखरा नुडल्स प्रालि,फुडमाण्डु प्रालि,रुपाकोट सिसोर्ट प्रालि,क्युएफएक्स,सूर्यज्योति लाइफ इन्स्योरेन्स,मोअ राइड्स प्रालि,इसेवा,टेम्पलबेल बुटिक होटल,ट्यान्कुलिटी स्पा,टेम्पल ट्री होटल एण्ड स्पा,बेटर एप्लायन्सेस,सिद्धार्थ इन्स्योरेन्स प्रालि,पोखरा इन्टरनेट तथा अर्मला केवल,डिस होम,नेपाल क्यान ग्रुप,सन्ध्या जब्स,बन्दीपुर केवलकार,मारुती सिमेण्ट,युनाइटेड डिष्ट्रिब्यूर्टर्स,नासा सेक्युरिटीज तथा म्याजेष्टिक लेकफ्रन्ट होटलसम्मलेसहभागिता जनाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।