लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस सम्पन्न, व्यवसायमैत्री नीति र औद्योगिक विकासमा जोड

- लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार कोईराला सम्मानित


     एभरेस्ट आवाज    
     असार २० गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकार्यबिना सरकार सफल हुन नसक्ने बताएकी छन्।

राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकाले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझेदारी अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन् ।लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासबाट मात्रै प्रदेश र देशको आर्थिक अवस्था मजबुत बन्न सक्ने धारणा व्यक्त गरिन्। उनले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा चित्रित गर्दै व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार नीतिगत सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।उनले युवा, महिला, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल प्रविधिको विस्तार गर्दै दिगो आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्। उद्योग तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारी सिर्जना हुने भएकाले निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको जानकारी दिँदै लगानीकर्ताले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गरिन् ।

मन्त्री रिमालले पोखरा–३१ पुडिटारस्थित जग्गालाई प्रदेश सरकारको मातहतमा ल्याएर आगामी पाँच वर्षभित्र आधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने योजना रहेको जानकारी दिइन्। यसले प्रदेशको औद्योगिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै पोखरालाई पर्यटनसँगै उद्योगको केन्द्रका रूपमा विकास गरिने बताइन् ।उनले सञ्चारमाध्यमलाई जनताको आवाज सरकारसम्म पु¥याउने प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्दै पत्रकारिताको भूमिकाको प्रशंसा गरिन्। साथै महिलाको अर्थपूर्ण सहभागिताबिना समावेशी विकास सम्भव नहुने उल्लेख गर्दै प्रदेश सरकारले महिला उद्यमशीलता र नेतृत्व विकासलाई पनि प्राथमिकता दिएको बताइन् ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले २०५४ साल असार २० गते स्थापना भएको संघले तीन दशकको यात्रामा उद्योगी–व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताइन्। सीमित स्रोतसाधनका बीच संस्था आज दुई हजारभन्दा बढी सदस्य रहेको सशक्त व्यावसायिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले अग्रजहरूको योगदानको उच्च सम्मान गरिन् ।अध्यक्ष अधिकारीले लेखनाथलाई उद्योग, व्यापार र पर्यटनको केन्द्रका रूपमा विकास गर्न संघ निरन्तर सक्रिय रहेको बताइन्। व्यवसाय सञ्चालनका लागि सुरक्षित, भयरहित र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। निजी क्षेत्र बलियो भए मात्र देशको अर्थतन्त्र पनि बलियो हुने धारणा उनले व्यक्त गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले संघीयताको मर्मअनुसार सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य हुनुपर्ने बताए। उनले व्यवसायीमैत्री नीति निर्माण, लगानी प्रवद्र्धन र प्रशासनिक सहजीकरण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बदलिँदो समयसँगै व्यवसाय सञ्चालनको शैली पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै नयाँ पुस्ताले प्रविधिमैत्री सोचका साथ उद्यमशीलतामा अघि बढ्नुपर्ने बताए। उनले लेखनाथ क्षेत्र शिक्षा, संस्कृति, पर्यटन र आर्थिक विकासका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्दै उपलब्ध प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै त्यसको व्यावसायिक उपयोग गर्नुपर्ने धारणा राखे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले लेखनाथ उद्योग वाणिज्य संघले तीन दशकमा पु¥याएको योगदानको प्रशंसा गर्दै व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि प्रशासन सधैँ सकारात्मक रहेको बताए। उपभोक्ताको हित संरक्षण र व्यवसायमैत्री वातावरण निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले ८० सदस्यबाट सुरु भएको संस्था आज दुई हजारभन्दा बढी सदस्य भएको जानकारी दिँदै लेखनाथ क्षेत्रको पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा सामाजिक क्षेत्रमा संघले उल्लेखनीय योगदान पु¥याएको बताए। उनले कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न, ताल संरक्षणमा सरकारी लगानी बढाउन तथा लेखनाथ महोत्सवलाई अझ प्रभावकारी बनाउन सुझाव दिए ।कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम गिरी, वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तोला, महासचिव भरतराज ओझा, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालगायतले संघको योगदान, निजी क्षेत्रको भूमिका र भावी योजनाबारे धारणा राखेका थिए ।

सोही अवसरमा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यको संरक्षकत्वमा स्थापना गरिएको ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार–२०८३’ पत्रकार टिकाराम यात्रीलाई प्रदान गरिने घोषणा गरिएको छ। पुरस्कार छनोट समितिका संयोजक छत्रधर आत्रेयका अनुसार पुरस्कारको राशी रु. १ लाख १ हजार रहेको छ । त्यसैगरी संघको लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार–२०८३ बाट समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइराला सम्मानित भएका छन्। संघका पूर्व कार्यसमिति सदस्य सूर्यमणि लामिछानेले स्थापना गरेको उक्त पुरस्कारको राशी रु. १५ हजार ८८ रहेको छ। यसैगरी संघका पूर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापित वातावरण संरक्षण पुरस्कार–२०८३ यस वर्ष पोखरा–२७ शिवटोल विकास संस्थालाई प्रदान गरिएको छ। रु. ११ हजार १ सय ११ राशिको उक्त पुरस्कार उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले हस्तान्तरण गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।