म्याग्दीको तातोपानी कुण्डको प्रर्वद्धनमा, राष्ट्रिय सेवा दलका विद्यार्थी सक्रिय


     एभरेस्ट आवाज    
     असार २२ गते २०८३ मा प्रकाशित




विद्यार्थीहरु आवद्ध राष्ट्रिय सेवा दलले म्याग्दीको प्रसिद्ध सिङ्गा तातोपानी कुण्डको प्रचार–प्रसारसहित प्रर्वद्धन गर्न अभियान नै सुरु गरेको छ ।

दलमा आबद्ध म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका क्याडेटहरूले आइतबार तातोपानी कुण्ड परिसरमा विशेष सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली सेनाको गुरु गोरख गुल्म, अर्थुङ्गे म्याग्दीको समन्वयमा जिल्लाभरिका विद्यालयहरूमध्ये माउण्ट एभरेष्ट आवासीय माविलाई छनोट गरी विशेष तालिम तथा सामाजिक कार्यको थालनी गरिएको हो । एनसीसी ५२ औँ ब्याचका क्याडेटहरूका लागि आयोजित तीन महिने ’एनसीसी जुनियर डिभिजन तालिम’ अन्तर्गत पाँच चरणमा विभिन्न सामुदायिक सेवाका कार्यक्रमहरू सञ्चालन गरिने गुरु गोरख गुल्मका प्रशिक्षक एवम् जमदार चन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

सोही अवसरमा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले तातोपानी कुण्डको प्राकृतिक उपचार पद्धतिको बारेमा जानकारी गराएका छन् ।तालिममा सहभागी विद्यार्थीहरूले समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्दा व्यावहारिक ज्ञान मिल्ने बताउँदै अध्यक्ष खड्काले तातोपानीमा यस्तो उदाहरणीय कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारलाई धन्यवाद समेत ज्ञापन गरे । जुनियर डिभिजनतर्फको यस तालिममा कक्षा ८ देखि १० सम्मका ३० जना छात्रछात्राहरू सहभागी छन् ।तालिम अवधिमा क्याडेटहरूलाई शारीरिक सुगठन , ड्रिल, एरोबिक्स, हतियार सञ्चालन , पर्खाल चढ्ने घोडचढी, पौडी, वक्तृत्वकला, ’स्यान्ड मोडेल ब्रिफिङ’ र सांस्कृतिक कार्यक्रमहरूमा दक्ष बनाइनेछ ।

सोही अवसरमा विद्यालयको तर्फबाट कुण्ड व्यवस्थापन समितिलाई पाँच थान डस्टबिन समेत हस्तान्तरण गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।