हरित रोजगारी र वातावरणीय दिगोपनाका लागि पोखरामा ३० दिने सीप विकास तालिम सुरु


     एभरेस्ट आवाज    
     असार २३ गते २०८३ मा प्रकाशित




रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना जिसिआरयु परियोजना अन्तर्गत पोखरामा सोमबारदेखि ३० दिने सिलाई तथा कटाई सीप विकास तालिम सुरु भएको छ ।

सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात् गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आयआर्जनमा बदल्ने उद्देश्यले क्लिन अप नेपालको सहजीकरणमा कार्यक्रम आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिल्वालले हरित रोजगारी प्रवद्र्धन र वातावरणीय दिगोपनामा यस तालिमको विशेष महत्त्व रहेको बताइन् । उनले चक्रिय अर्थतन्त्रका अभ्यासहरूले समुदायलाई आर्थिक रूपमा सशक्तीकरण गर्न ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । परियोजनाका मिल एण्ड कम्युनिकेसन विश्लेषक शशी थापाले सहभागीहरूलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र आफ्नो जीविकोपार्जनमा सुधार ल्याउँदै स्वच्छ र हरित पोखरा निर्माणमा योगदान दिन प्रोत्साहित गरे ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठले तालिमको पाठ्यक्रमबारे जानकारी दिँदै ३० दिनभित्रै सहभागीहरूले पुराना कपडा प्रयोग गरी बजारयोग्य र गुणस्तरीय सामग्री तयार पार्न सक्ने बताइन् । उनले प्रशिक्षार्थीहरूलाई स्वरोजगार बन्न र पोखराको हरित अभियानलाई सफल बनाउन आग्रह गरिन । तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाका १८ वटा रिसाइक्लिङ तथा अपसाइक्लिङ समूहका ३२ जना महिलाहरूको सहभागिता रहेको छ । सहभागीहरूले पुनः प्रयोग गरिएका कपडाबाट झोला, फूलको गुच्छा, गुडिया निर्माण गर्ने र मकैको खोस्टाबाट सजावटका फूल तथा उपहार सामग्री बनाउने सीप सिक्नेछन् ।

तालिम सम्पन्न भएपछि सहभागीहरूलाई आफ्नै उद्यम स्थापना गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजकका तर्फबाट सिलाई मेसिनसमेत उपलब्ध गराइने बताइएको छ । परम्परागत प्रयोग र फ्याँक्ने अर्थतन्त्रको सट्टा फोहोरको न्यूनीकरण र पुनः प्रयोगमार्फत दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य परियोजनाले राखेको जानकारी आयोजकले दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।