पर्वतमा आधुनिक ‘पैयूँ चिल्ड्रेन पार्क’ निर्माण


     एभरेस्ट आवाज    
     असार २३ गते २०८३ मा प्रकाशित




बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ ।

दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ निर्माण गरिएको हो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैंयू गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको रु दश लाख, स्थानीय वडा कार्यालयको रु चार लाख र पैंयूँ गाउँपालिकाको रु एक लाख गरी रु १५ लाख लगानीमा बालउद्यान निर्माण भएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए । पार्क निर्माण भएपछि ग्रामीण क्षेत्रका रहेका बालबालिकाहरुलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न, मनोरञ्जन लिनका लागि सहज हुने वडा अध्यक्ष भुर्तेलले बताए ।

भुर्तेलले भने, “गाउँका बच्चाले पनि सहर वा विदेशका बालबालिकाजस्तै खेल्न, हाँस्न र रमाउन पाउनुपर्छ भन्ने अठोटका लगानी गरी पार्क निर्माण गरिएको हो ।” गाउँपालिकाकै एकमात्र यस पार्कले स्थानीय मात्र नभई वरपरका अन्य गाउँ र बजार क्षेत्रका बालबालिकालाई समेत समेट्ने र उनीहरूलाई एकै ठाउँमा जोडिने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।यसैबीच पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उक्त पार्कलाई पर्यटकीय आकर्षणका लागि अन्य भौतिक संरचना थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताए ।नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै उद्घाटन गरी बालबालिकाका लागि खुला गरिने वडा कार्यालयले जनाएको छ ।

बालबालिकाका लागि विभिन्न खेल खेल्ने र मनोरञ्जन लिने तथा अध्ययनका लागि विभिन्न उपकरण र सामाग्री राखिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।