गण्डकी प्रदेश सरकारले छ जना हिमाल आरोहीलाई सम्मान गरेको छ ।
प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा आज पोखरामा भएको समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ज्ञवलीले आरोहीहरुलाई जनही रु ४५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । सम्मानित हुनेमा सगरमाथा आरोही पर्वतको कुश्मा नगरपालिका–१४ का किरणबहादुर पि.सि, सगरमाथा, मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका गोरखा चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, सगरमाथा आरोही कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी र पर्वतको बिहादी गाउँपालिका–४ का सगरमाथा आरोही देवीप्रसाद न्यौपाने रहेका छन् ।
यसैगरी कञ्चनजङ्गा हिमाल आरोहण गरेका तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापा र अन्नपूर्ण हिमाल आरोही तनहुँको घिरिङ गाउँपालिका–५ का नवराज रानालाई पनि सम्मान गरिएको हो । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश भित्रने पर्यटकको बसाइ लम्बाउने गरी योजना बनाउनुपर्ने बताए । पर्यटनबाट आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ थियो । पर्यटनका लागि बेमौसम मानिने याममा पनि पोखरालगायत गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि देखिनु सुखद् रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
हिमाल आरोहणमार्फत गण्डकी प्रदेशको पर्वतीय पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएबापत आरोहीहरुलाई सम्मान गरिएको मन्त्री रिमालले बताईन् । आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने आरोहीलाई सम्मान गरिएको मन्त्रालयका उपसचिव टीकाराम पौडेलले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ…






