पोखरामा सट्टेबाजको सञ्जाल, ७ भारतीयसहित ८ जना पक्राउ


     एभरेस्ट आवाज    
     असार २६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार २६

पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । भारतीय नेटवर्कसँग आबद्ध भई विभिन्न खेलमा सट्टेबाजी गर्दै आएका उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा एक नेपाली र ७ भारतीय छन् । कास्की प्रहरीका अनुसार उनीहरु पोखरा–१८ सेदीमा अस्थायी रुपमा बस्दै आएका उनीहरु भारतीय एक सट्टेबाजीमार्फत परिचालित सट्टेबाजहरु हुन् ।

तलबी रुपमा काम गर्दै आएका उनीहरुमध्ये दार्चुला घर भई पोखरा–१८ सेदी बस्ने ३१ वर्षिय दीनेशसिंह बोहरा मात्र नेपाली हुन् । अन्य ७ जना भने भारत भुपा मानपुर घर भई सेदीमै बस्ने ३४ वर्षिय सत्यम सिंह, २४ वर्षिय हर्ष उसरेटे, २३ वर्षिय विशाल चाउ, २२ वर्षिय जमानसिं तमार, २७ वर्षिय विक्रान सिंह, २६ वर्षिय अजितेशकुमार मिश्र र २४ वर्षिय सत्यम राजपुत रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट ७ थान ल्यापटप, ६ थान कम्प्युटरका मनिटर, विभिन्न कम्पनीका ३१ थान मोवाइल, ९ थान किवोर्ड, ४ थान मल्टिप्लक, १२ भोल्टको एकथान व्याट्री, यूपिएस १ थान, राउटर २ थान, १६ थान चार्जर र ३४ थान भारतीय सिमकार्ड बरामद गरिएको उनले बताए । उनीहरुको कम्प्युटर र ल्यापटप हेर्दा ३ फरक स्टेटमेन्ट देखिएको बताइएको छ । जसअनुसार एउटामा १० करोड ५५ लाख ६८ हजार ६ सय ९०, ९ करोड २ लाख २२ हजार २६ रुपैयाँ र तेस्रोमा १ करोड, ११ लाख ९९ हजार १ सय १८ रुपैयाँ क्रेडिट कारोबार भेटिएको एसपी कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुले पोखराको सेदीस्थित जीवन श्रेष्ठको घर भाडामा लिएर क्रिकेट, फुटबललगायतमा सट्टेबाजी गर्दै आएको पाइएको छ । उनले भने,‘रजिष्ट्रेसनपछि जित्नेलाई रकम अनलाईनमार्फत पठाई दिने र हार्नेको रकम जफत गर्ने गर्दारहेछन् ।’ उनीहरुले विभिन्न टेलिग्राम र ह्वाट्सअपमार्फत ग्रुप बनाएर गुरुभाई २४७ डट.प्रो नामबाट लिंक पठाई सट्टेबाजीका लागि आग्रह गर्ने गरेको पाइएको एसपी कार्कीले बताए । सो लिंकमार्फत उनीहरुसँग सम्पर्कमा आएपछि डिपोजिट जम्मा गर्न लगाउने गरेको पाइएको कार्कीले बताए । उनले भने,’जब लिंक हेरेपछि रजिष्ट्रेसन गर्छन् तब मात्रै सट्टेबाजी खेल खेलाउने गरेको देखिन्छ ।’

पक्राउ परेका सट्टेबाजहरुले दैनिक ३ देखि ४ लाखसम्म कमाउने गरेको पाइएको प्रहरीको दाबी छ । तर सट्टेबाजीमा संलग्नहरुले भने २५ हजारका दरले तलबी रुपमा काम गर्ने गरेको पाइएको उनले बताए ।

पोखरामा पक्राउ परेका सट्टेबाजहरुले कारोबार गर्दा एक्सिस बैंक,आईडीएफसी बैंक, ट्वाण्टीफोर पे, पे बजार,कनरा बैंक, गुगल पे, नोक्सन पे, तेलंगनाग्रामिण बैंकलगायत प्रयोग गर्नेगरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई अन्तरदेशीय आर्थिक कारोबार संगठीत सट्टेबाजीसँगको सम्बन्धबारे केन्द्रीत गरेर अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।