पहिरोले बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र


     एभरेस्ट आवाज    
     असार २७ गते २०८३ मा प्रकाशित




पहिरोले राष्ट्रिय गौरवको आयोजना बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ ।

बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने बिदामा घुम्न हिँडेका पर्यटक फल्लेघरमै अलपत्र परेका हुन् । मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सडक अवरुद्ध हुँदा धेरै यात्रु सडकमै अलपत्र परेको उनको भनाइ छ ।

त्वातीले भने, “बिहानदेखि सडक अवरुद्ध छ, अहिलेसम्म खुलेको छैन, सडक नखुल्दा ढोरपाटन जाने र फर्किने यात्रु समस्यामा परेका छन्, यद्यपि सडक खुलाउनका लागि मेसिन भने प्रयोग भइरहेको छ ।” ढोरपाटन घुम्न आउने पर्यटकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै आउन उनले आग्रह गरे । यो याममा ढोरपाटन आउने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।