सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण भएको छ । बेँसीसहरका बाबुलाल श्रेष्ठ पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज बनेको बताउछन् । “गत वर्ष बर्खामा पटकपटक समस्या झेल्नु परेको थियो । कतिबेला माथिबाट ढुङ्गा खस्छ भन्ने डर हुन्थ्यो । अहिले भने निर्धक्क भएर यात्रा गर्न सकिन्छ । सडक राम्रो भएको छ, पहिरोको त्रास पनि छैन,” उनले भने ।
उक्त सडकमा नियमित रुपमा सवारी सञ्चालन गर्दै आउनुभएका नारायण घिमिरे पनि उदिपुर क्षेत्रमा निर्भयका साथ गाडी चलाउन पाएकामा खुसी छन् । उदिपुर क्षेत्रमा पहिरो नियन्त्रण नहुँदा हरेकदिनजसो सवारीसाधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाने गर्दथे । डुम्रे–बेँसीसहर सडक लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो । यही सडकले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोडेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन…






