रौतहटमा आत्मदाह प्रयास गरेका युवाको काठमाण्डौँमा उपचार हुँदैं


     एभरेस्ट आवाज    
     असार ३१ गते २०८३ मा प्रकाशित




एक हप्ताको बिचमा आत्मदाहबाट ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै, रौतहटमा फेरि एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।

रौतहटको गरुडाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । गम्हरियाका २८ वर्षीय सहनीले मङ्गलवार राति करिब १ बजे शरीरमा आगो लगाएका थिए। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार केही दिनयता मानसिक तनावमा रहेका सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्केर आगो लगाएका थिए ।

घटनालगत्तै उनलाई परिवारका सदस्यले गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । अहिले उनलाई वीर अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको परिवारका सदस्यले जानकारी दिए ।सहनीलाई एम्बुलेन्समा हालेर काठमाडौं लगिएको हो ।

प्रहरीका अनुसार सहनीको घाँटीदेखि तल शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।