क्रबाजी सिङ्दी तमु समाजको दबदबा, रमेश गुरुङ दौडमा प्रथम


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०८३ मा प्रकाशित




हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न दौडमा क्रबाजी सिङ्दी तमु समाजले उत्कृष्ट प्रदर्शन गरेको छ ।

तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा समाजले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको हो।प्रतियोगिताको पुरुष १० किलोमिटर दौडमा समाजका रमेश गुरुङ ले निर्धारित दूरी ३५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। सोही समाजका प्रवीन गुरुङले ३७ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा चन्द्र सुब्बा गुरुङले ३७ मिनेट ३८ सेकेन्डमा तेस्रो स्थान हात पारे। यससँगै व्यक्तिगततर्फ शीर्ष तीन स्थान नै क्रबाजी सिङ्दी तमु समाजका धावकहरूले आफ्नो नाममा लेखाउन सफल भए।

टिम प्रतिस्पर्धामा पनि क्रबाजी सिङ्दी तमु समाजले २८ अंक जोड्दै च्याम्पियनको उपाधि जित्यो। पाइको तमु समाज, पोखरा–१२, ६७ अंकका साथ दोस्रो तथा ताङतिङ दूधपोखरी तमु समाज ७४ अंकसहित तेस्रो स्थानमा रह्यो।महिला ५ किलोमिटर दौडमा पाइको तमु समाज, पोखरा–१२ की ननिता गुरुङ ले निर्धारित दूरी २४ मिनेट २५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। सोही समाजकी रोशनी गुरुङ ले २६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन्।

त्यसैगरी मुग्री गुरुङ समाज की हेउमाया गुरुङ ले २८ मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। महिला विधामा सहभागी धाविकाहरूले उत्साहजनक प्रतिस्पर्धा प्रस्तुत गरेका थिए। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह हिमाली गुरुङ परिवारका कार्यबाहक अध्यक्ष रुद्रबहादुर गुरुङको अध्यक्षतामा तथा प्रमुख अतिथि रत्नमान गुरुङको आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमको सञ्चालन प्रतियोगिताका द्वय संयोजक श्याम गुरुङ र युवा समितिका अध्यक्ष पूर्ण गुरुङले संयुक्त रूपमा गरेका थिए। आयोजकका अनुसार खेलकुदमार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन, सामाजिक एकताको सुदृढीकरण तथा युवापुस्तामा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।