पोखराको रातो पैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन २

पोखराको रातो पैह्रोमा सेती नदी थुनिएको छ । पोखरा–१७ र १५ को सिमाना क्षेत्र रातोपैह्रो (पोखरा पर्वतीय संग्रहालय अगाडि)पट्टी सेती नदी थुनिएको हो । यो यति एयरलाईन्स दुर्घटना क्षेत्रभन्दा तलपट्टी रहेको पोखरा–१७ र १५ जोड्ने सिताराम पुलभन्दा ३ सय मिटर तल पर्दछ । जहाँ पैह्रोले सेतीनदी पुरिदा करीब ५०–६० मिटर अग्लो झरना बनेको छ ।

सँधै डाँडाबाट करीब एक सय मिटर तल खोंच भएर बग्ने सेती नदी पैह्रोले पुरेपछि झरना बनेर बगेको स्थानिय पत्रकार हरिप्रसाद बास्तोलाले बताए । उनका अनुसार करीब ३ महिना अघि पनि सो ठाउँमा पहिरो खसेको थियो । यद्वपी त्यसले नदीको बहाव भनेको थुनेको थिएन ।

तर शुक्रबार फेरी त्यहि ठाउँमा खसेको पहिरोले सेती नदीको बहाव नै थुनेर झरना बनेको उनले बताए । नदीको पूर्व तर्फबाट चट्टानसहितको पहिरो खस्दा नदी थुनिएको उनको भनाई छ । जसले गर्दा पहिरो खसेको भन्दा माथिल्लो क्षेत्रमा ताल बनेको अनुमान गर्दै उनले भने,‘सेती नदी यस क्षेत्रमा यति माथिबाट कहिल्यै बगेको थिएन । तर पहिरोले नदी थुनिएपछि ५०–६० मिटर माथिबाट झरना झरिरहेको छ । यसको मतलव त्यतिमाथिबाट झरना झर्नलाई माथिल्लो भागमा ताल बनेको हुनुपर्छ ।’

अर्का स्थानिय भक्तराम तामाङले पनि यसअघि कहिल्यै त्यस क्षेत्रमा झरना बनेर सेती बगेको नदेखेको बताए । पहिले त सेती गर्जको तल्लो सतहबाट नदी बग्थ्यो,उनले थपे,‘अहिले त माथिबाट झरनाझैं बगिरहेको छ । यो देखेर हामी आश्चर्यचकित भएका छौं ।’

सेती थुनिएर झरनाझैं बगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा भने त्रसित बनेका छन् । माथिल्लो क्षेत्रमा थुनिएको नदी एक्कासी फुटेर बाढी आउने खतराले आफूहरु त्रसित बनेको तामाङले बताए । उनले भने,‘नदीलाई सामान्य अवस्थामा नल्याए भोलि यसले हामी तल्लो क्षेत्रमा बस्नेहरुको उठीबास लगाउने खतरा छ ।’

यसैबीच, प्रहरी र सशस्त्र प्रहरीको टोलीले थुनिएको नदीको अवलोकन तथा सम्भावित क्षेतीको आंकलन गरेको छ । थुनिएको भन्दा तल्लो क्षेत्रमा गहिराई धेरै भएकाले सो टोलीले तल्लो तटीय क्षेत्रमा क्षेती नपु¥याउने निश्कर्ष निकालेको हो । वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज भट्टराईले थुनिएको सेती नदीले तल्लो तटीय क्षेत्रमा क्षेती नपु¥याउने बताए । झरनाबाट भए पनि नदी बगिरहेकाले थप क्षेती हुने देखिदैन,उनले भने,‘तै पनि थुनिएको ठाउँ खोल्नका लागि पहल गर्नुपर्ने देखिन्छ ।’

स्थानिय पत्रकार हरि बास्तोलाले भने क्षेती पु¥याउँदैन भनेर चुप लागेर बस्न नहुने बताए । भने,‘थुनिएकोभन्दा माथिको भागमा ताल बनेको हुनसक्ने देखिएकाले त्यसको निकासका लागि प्रशासन र सरकारले पहल गर्नुपर्छ ।’

पोखराको मध्य भागबाट बग्ने सेती नदीका विभिन्न ठाउँमा हरेक वर्ष पहिरो जाने र सेती थुनिने गर्दछ । पृथ्वीचोकभन्दा केहि माथि रामघाटको मुख थुनिदा त्योभन्दा माथिल्लो क्षेत्रमा ताल बन्ने गरेको छ । हरेक वर्ष भारी वर्षा भएको समयमा त्यहाँ ताल पर्दा वरपरका बस्ती डुबानमा पर्ने गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।