यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
काठमाण्डौंको प्रसिद्ध पशुपतिनाथ मन्दिरमा पनि बिहानै देखि दर्शनार्थीको घुइँचो लाग्यो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शनको व्यवस्था मिलाइएको थियो । मन्दिरका चारवटै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । बिहानबाट सुरु भएको बिशेष पुजा मध्यान्ह १२ बजेसम्म चलेको कोषका सदस्यसचिव श्रेष्ठले जानकारी दिए । दर्शनार्थीहरु लामबद्ध भएर पशुपतिनाथ मन्दिरको पूजा गरेका छन् । र्साझसम्म नै यो क्रम जारी रहने कोषले जनाएको छ ।
कोषले दर्शनार्थीको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजाका लागि आवश्यक व्यवस्था मिलाएको छ । पोखरामा पनि बिहानै देखि बोलबम यात्री र दर्शनार्थीको भिड लागेको छ । बैदाममा रहेको केदारेश्वर मन्दिरमा पनि दर्शन गर्नेको बिहानैदेखि भिड लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।भक्तजन तथा दर्शनार्थीले सेतीनदी तटमा रहेको गाईघाटबाट पवित्र जल लगेर केदारेश्वर मन्दिरमा चढाउने गर्दछन् । यो क्रम साउन महिनाका ४ वटै सोमबार जारी रहने बोलबम समितिले जनाएको छ ।
पोखरासहित यस आसपासमा रहेका बिभिन्न शिवालयमा पनि भक्तजन पूजा–आराधना र दर्शनका लागि पुगेका छन् । साउने सोमबारको व्रत तथा पूजाले पारिवारिक सुख शान्ति मिल्ने र सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म संचालित सटल बस सेवा बन्द नभएको…





