पोखरामा खोलाघर खाली गर्ने अभियान स्थगीत भएकोमा वातावरण संरक्षणका लागि महाअभियानको ध्यानाकर्षण (विज्ञप्तिसहित)


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८३ मा प्रकाशित




वातावरण संरक्षणका लागि महाअभियानले फिर्केखोला करिडोर निर्माण अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ।

अभियानले आज पोखरामा पत्रकार सम्मेलन गर्दै फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि संचालन गरिएको खोलाघर खाली गर्ने अभियानले पूर्णता नपाउँदै स्थगन भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महा अभियानका संयोजक रामबहादुर पौडेलले पोखरा महानगरपालिकाका वडा नं। १८, २, ४, ५, ६, ७ र १७ हुँदै बग्ने फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको बताए । उनले करिब ८ किलोमिटर लामो फिर्केखोला पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा भएको र जैविक विविधता, वातावरणीय सन्तुलन तथा प्राकृतिक सौन्दर्यका दृष्टिले यसको संरक्षण अपरिहार्य रहेको जनाएका छन् ।

महाअभियानले विगतमा सञ्चालन गरिएको ‘फिर्केखोला बचाऔँ अभियान’ अन्तर्गत खोला सफाइ, जनचेतनामूलक कार्यक्रम तथा करिडोर, पैदलमार्ग र साइकल लेन निर्माणका लागि निरन्तर पहल हुँदै आएको जनाएको छ। पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, योजनाविहीन शहरीकरण, फोहोर व्यवस्थापनमा कमजोरी तथा नियमनको अभावले खोलाको प्राकृतिक स्वरूप संकटमा परेको आरोप लगाइएको छ।संयोजक पौडेलले पोखराका विभिन्न स्थानमा अझै पनि पक्की संरचना, पर्खाल, टहरा, सामुदायिक भवन तथा अन्य निर्माण पूर्ण रूपमा नहटाइएकाले खोला अतिक्रमण यथावत् रहेको उल्लेख गरेका छन् । उनले फिर्केखोलाको वास्तविक संरक्षणका लागि सबै अतिक्रमित संरचना निष्पक्ष रूपमा हटाउन, करिडोर निर्माण कार्यलाई निरन्तरता दिन र प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।

प्रवक्ता गोकुलबहादुर कार्कीले वातावरण संरक्षणलाई दीर्घकालीन रूपमा सफल बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा नागरिकबीच समन्वय आवश्यक रहेको उल्लेख गरे। पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा खोलाघर आंशिक वा पूर्णरुपमा खाली नगरिएका वडाहरुको सुची समेत सार्वजनिक गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।